आवासीय चिकित्सकको आन्दोलन २७औं दिनमा, माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन
काठमाडौं -आवासीय चिकित्सकहरूले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनलाई २७औं दिनसम्म निरन्तरता दिएका छन्। आज उनीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर सरकारको ध्यानाकर्षण गराएका छन्। गत चैत २१ गतेदेखि सेवा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आठौं तह बराबरको निर्वाह भत्ता सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएका छन्। उनीहरूका अनुसार निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू अत्यधिक श्रम शोषणमा परेका छन्। उनीहरूले राखेका मुख्य मागहरूमध्ये हप्तामा ७२ घण्टाभन्दा बढी कार्य समय नहुने, वर्षको २८ दिन अनिवार्य बिदा दिने, किरिया तथा सुत्केरी बिदा आवश्यकतानुसार थप गरिनुपर्ने उल्लेखनीय छन्। आन्दोलनरत चिकित्सकहरूका अनुसार यी मागहरू चिकित्सकहरूको जीवनस्तर र पेशागत मर्यादा कायम राख्न अत्यावश्यक छन्।…