आज मितिः २०८२ असार २५ गते

विभिन्न ठाऊमा अत्याधिक गर्मी हुने चेतावनी ! कसरी जोगिने ?

चितवन ।

मौसम पूर्वानुमान महाशाखाले मध्य र पश्चिम तराईमा तापक्रम अझै बढेर अत्यधिक गर्मी हुने चेतावनी दिएको छ । मधेशसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिका तराईका धेरै स्थानमा आगामी शुक्रबारसम्म अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । त्यसमा पनि गण्डकीका नवलपरासी, भैरहवा, कपिलवस्तु, दाङको दक्षिणी क्षेत्र, बाँके र बर्दियामा तातो हावाको लहर चल्न थालेको छ । मधेशसँगै सुदूरपश्चिमका तराईको तापक्रम भने बुधबार ३९ डिग्रीसम्म कायम रह्यो । तर, पूर्वी तराईमा ३५ डिग्रीआसपाससम्म पुगेको थियो । पूर्वी तराईमा भने स–सानो मौसमी प्रणालीका कारण बादल र वेलावेला वर्षा पनि भइरहेकाले तापक्रम बढ्न पाएको छैन ।

भैरहवाको तापक्रम उच्च कायमै
बुधबार पनि सबैभन्दा धेरै तापक्रम भैरहवामा मापन भएको छ । अधिकतम तापक्रम ४०.८ र न्यूनतम २२.९ डिग्री सेल्सियस मापन भएको हो । यो तापक्रम मंगलबारभन्दा कम भए पनि दिउँसो तातो लहर चलिरहेको छ । भैरहवामा मंगलबार अधिकतम तापक्रम ४१.३ डिग्री सेल्सियस पुगेको थियो ।बुधबार धनगढीमा ३९.९, नेपालगन्जमा ३८.८, सिमरामा ३९.५ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, पूर्वी तराईका चन्द्रगढीमा ३३.४, जनकपुरमा ३८.४, धरानमा ३४.२, विराटनगरमा ३५.८ र धनकुटामा ३०.२ डिग्री सेल्सियस मापन भएको छ ।उपत्यका र पहाडी जिल्लामा पनि तापक्रम बढेको छ । बुधबार काठमाडौंमा अधिकतम तापक्रम ३२.७ र न्यूनतम १६.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंमा अधिकतम तापक्रम सोमबार ३१.४ र मंगलबार ३१.६ थियो । बुधबार दिपायलमा ३८.३, वीरेन्द्रनगरमा ३६.४, घोराहीमा ३५.३ र पोखरामा ३४ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, पहाडी क्षेत्रमा ताप्लेजुङमा २६.९, लुम्लेमा २६.६, जिरीमा २६.२, जोमसोममा २२.६, ओखलढुंगामा २९, जुम्लामा २६.७ र डडेल्धुरामा २९.९ डिग्री सेल्सियस मापन भएको छ ।

तातो हावाको असर 
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै- थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बच्ने उपाय अपनाउन हुन अनुरोध छ ।

कसरी जोगिने ?
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह लिने गर्नुपर्छ ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.