बैशाख १३ , चितवन ।
नेपाली क्रिकेटमा अनुभवी प्रशिक्षकको स्टुअर्ट ल को आगमन भएको छ ।
शुक्रबार राति नेपाल आइपुगेर शनिबार विहानै अन्तर्रक्रियामा सहभागी भएका ल सामान्य फुर्तिला देखिए भने नेपाली क्रिकेट टोली सम्हाल्नुअघि निकै उत्साहित पनि देखिए ।
सुरुवातमै उनले नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी पाउँदा उत्साहित रहेको बताउँदै उनले आफ्ना लागि ‘न्यु च्यालेन्ज’ भएको उल्लेख गरे । उनले नेपालमा धेरै प्रतिभा, चाहना र प्यासन भएका खेलाडीहरू देखेको र यहाँको समर्थकहरूमा देखेको क्रिकेटप्रतिको लगावले पनि आफू प्रभावित भएको उल्लेख गरे । प्रशिक्षक ल कै उपस्थितिमा आजदेखि काठमाडौंमा पुरुष क्रिकेट टोलीको कोर क्याम्प पनि सुरु भएको छ । उक्त क्याम्पबाट नेपालको अबको दुई महत्वपूर्ण प्रतियोगिता आईसीसी टी-२० विश्वकप छनोट र आईसीसी विश्वकप लिग २ का लागि अन्तिम टोली तयार हुनेछ ।
उनले नेपाल राम्रो देश भएको र यहाँको क्रिकेट कल्चर पनि राम्रो भएको उल्लेख गरे । ‘राम्रो देश, राम्रो ठाउँमा क्रिकेट मैदान पनि छ, घाँस भएको पिच छ’ पिच कन्डिशनबारे टिप्पणी गर्दै उनले भने, ‘युकेको कन्डिशनसँग म्याच गर्छ, युके जानुअघि यहाँ पनि राम्रोसँग अभ्यास गर्नेछौं।’
‘नेपालमा फरक शैलीका क्रिकेटरहरू छन् जसले दुवै फर्म्याटमा उतिकै राम्रो गर्न सक्छन्, कोही विशेषज्ञ खेलाडी पनि हुन सक्छन् उनीहरूलाई कुन भूमिकामा कसरी अभ्यस्त गराउने त्यो जरुरी हुन्छ’ उनले भने ।
कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपालको टिमसँग बोन्डिङ मिल्न सक्ने, अनुभवी र नेपालस्तो टिमसँग पहिले काम गरिसकेको भएकोले स्टुअर्ट ल लाई नै प्रशिक्षकका रूपमा उपयुक्त ठानिएको बताए ।
‘हाम्रो टिमसँग बोन्ड मिल्ने, हाम्रो कन्डिशन बुझेर गाइड गर्न सक्ने भएकाले करिब ७० जनाको आवेदनबाट १० जना शर्टलिस्ट अनि त्यसमध्ये पनि उहाँलाई नै छानिएको हो , नयाँ प्रशिक्षकलाई समय दिनुपर्छ, त्यसलाई बोर्डले पनि ब्याक गर्ने छ ’ उनले अगाडि थपे, ‘जित्नु मात्रै पर्छ भन्ने मानसिकता हाम्रो फ्यानहरूमा हुने गर्छ, तर मुख्य कुरा भनेको राम्रो खेल प्रस्तुत गर्ने नै हो। पहिला आवश्यकता अनुसार निश्चित सिरिज वा प्रतियोगिताका लागि कन्सलटेन्ट कोच ल्याएका छौं, आवश्यक पर्यो भने कोचसँगको सल्लाहमा नै आउने हो ’ पारसले भने ।
नेपाली क्रिकेटको आगामी यात्रा
गत नोभेम्बरदेखि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेको नेपाली क्रिकेट टोलीका लागि यस वर्ष केही महत्वपूर्ण प्रतियोगिता तथा शृंखलाहरूले पर्खिरहेका छन् ।
विशेषगरी नेपालका लागि सन् २०२५ को प्रमुख लक्ष्यका रूपमा आईसीसी टी-२० विश्वकपमा छनोट हुनु र आईसीसी विश्वकप लिग २ मा धेरैभन्दा धेरै खेल जित्नु नै हुनेछ ।
नेपालले अप्रिल दोस्रो साता कतारमा गएर चार देशीय टी-२०आई शृंखला खेल्ने तय छ । यो आईसीसी टी-२० विश्वकप छनोटको तयारीस्वरुप रहनेछ ।
त्यस्तै मे महिनामा युके गएर अभ्यास गर्ने छ जुन एकदिवसीय विश्वकपको आधार समेत मानिने लिग २ क्रिकेटको तयारी स्वरुप रहनेछ ।
जुनमा स्कटल्याण्डसँग टी-२०आई शृंखला खेल्ने छ । जुलाईमा श्रीलंका गएर तयारी क्याम्पमा सहभागी हुनेछ भने अगस्टमा तयारी क्याम्पसँगै अस्ट्रेलियाको नर्थन टेरीटोरीमा गएर टप एन्ड टुर्नामेन्ट खेल्ने टिमहरूसँग खेल खेल्नेछ जहाँ बंगलादेश, पाकिस्तानका ए टिमसहित बिग ब्यास टिमको खेलाडीहरू पनि समावेश भएको टोलीहरू हुनेछन् ।
त्यस्तै लगत्तै सेप्टेम्बरमा पूर्ण मान्यता प्राप्त टिमसँग यूएईमा गएर टी-२०आई शृंखला पनि नेपालले खेल्ने छ । यो सबै खेलहरू अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि फलदायी हुने क्यानको विश्वास छ ।
त्यसैअनुसार स्टुअर्टले रणनीति निर्माण गर्ने छन् । स्टुअर्टको प्रशिक्षणमा केकस्ता संकेत देखिन्छन् त्यो भने अब आउँदै गरेको शृंखला र प्रतियोगिताहरूमा नेपाली टोलीबाट हुने प्रदर्शनबाट अवश्य थाहा हुनेछ ।