रत्ननगर
पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १६ का महिलाहरुका लागी सामुदायीक सचेतना कार्यक्रम गरिएको छ।
रत्ननगर नगरपालिका वडा नं-१६ को आयोजना तथा नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थको सहकार्य रहेको सो कार्यक्रममा रनपा-१६ स्थित वनदेवि टोलका ५० जना महिलाहरुको सहभागीता रहेको थियो।
समन्वयात्मक सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत संचालित सो कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा मेन्टल हेल्थ कोअर्डिनेटर सुनिता जिरेल रहनुभएको थियो।
नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थ र वडा कार्यालयको साझेदारीमा आयोजित सो कार्यक्रममा मनोपरामर्श कर्ता सबिना भुसालले सहजीकरण गर्नुभएको थियो।
नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थको मुख्य कार्यालय भरतपुर-१०,मालपोत चोक स्थित मौलाकालिका अस्पताल नजिकै रहेको छ।
प्रशिक्षणको क्रममा उहाँले मन,मस्तिष्क र व्यवहारमा आईपर्ने समस्याको समाधान बारेमा जानकारी गराउनुका साथै मानसिक स्वास्थ्यको लक्षण र समाधानका उपायहरुबारे बताउनुभएको थियो।
सो कार्यक्रममा पिठुवा स्वास्थ्य चौकीका प्रमुख नरहरी श्याम शर्माले मन र शारीरिक स्वास्थ्यको सम्बन्धको बिषयमा बोल्नुहुँदै मनमा नकारात्मक सोच आएमा शारीरिक रुपमा पार्ने नकारात्मक असरहरु पर्ने बारे जानकारी गराउनुभएको थियो।
सो कार्यक्रमलाई पिठुवा स्वास्थ्य चौकिले समन्वय गरेको थियो।
सो कार्यक्रम बारे जानकारी गराउनुहुँदै वडा अध्यक्ष हेमराज थापाले भने,”वडावासिको स्वास्थ्यको लागि वडा परिवार सदैव तत्पर छ। सोही अनुसार वडावासिको मानसिक स्वास्थ्यलाई ख्याल गर्दै सो कार्यक्रम आयोजना गरिएको हो।”
सो कार्यक्रम रत्ननगर-१६ स्थित बनदेवी मन्दिरको प्रांगणमा संचालन भएको थियो।
पिठुवा स्वास्थ्य चौकिका प्रमुख नरहरी श्याम शर्माका अनुसार उक्त स्वास्थ्य चौकी मार्फत प्रत्यक दिन ल्याव सहितको स्वास्थ्य परिक्षण,परामर्श सेवा,नियमित खोप सेवा,गाउँघर क्लिनिक सेवा,हरेक महिनाको १६ गते गर्भवती महिलाको लागी ईसिजी,ल्याव र भिडियो एक्स रे को नि:शुल्क सेवा,क्षयरोगका बिरामिका लागि दैनिक स्वास्थ्य जाँच सहित औषधि वितरण,समुदायमा स्वास्थ्य जाँच अभियान,हरेक महिनाको तेश्रो बुधवार विशेषज्ञद्वारा मानसिक स्वास्थ्य परिक्षण र परामर्श सेवा साथै नि:शुल्क औषधि वितरण हुँदै आएको छ।
पिठुवा स्वास्थ्य चौकिले हरेक महिनाको १ पटक विशेषज्ञ सहितको नि:शुल्क मानसिक स्वास्थ्य परिक्षण गर्नुका साथै वडा कार्यलयको समन्वयमानि:शुल्क औषधी वितरण गर्दै आएको छ।