काठमाडौं-
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ। पाँच हजार ७८६ सम्पर्कविहिन रहेका छन् ।
जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४४९ जनाको शव फेला परेको हो।
साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन ९माटो मुनि सुरक्षित राखिएको० गरिएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी कार्य भइरहेको छ।