आज मितिः २०८३ श्रावण २४ गते

विशेष महाधिवेशनको वैधानिकतामा नेपाली कांग्रेसको विवाद

काठमाण्डौं-

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको वैधानिकतालाई लिएर देखिएको विवादले पार्टीभित्रको विभाजनको जोखिम बढिरहेको छ ।
सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति गगन थापाले कांग्रेसको विधान र सार्वभौम सदस्यको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन सम्पन्न गरिएको बताउनुभयो। उहाँले विशेष महाधिवेशन आवश्यक मात्र नभई पार्टी सदस्यहरूको अधिकारसमेत भएको दाबी गर्नुभयो।

“विशेष महाधिवेशन आवश्यक मात्र थिएन, यो हाम्रो अधिकारको कुरा पनि थियो। यसको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चले समेत पुष्टि गरिसकेको छ,” उहाँले भन्नुभयो।

सर्वोच्च अदालतले विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी निर्णय पुनरावलोकन गर्न आदेश दिएपछि त्यसलाई आफूहरूको वैधानिकता पुनः प्रमाणित गर्ने अवसरका रूपमा लिएको सभापति थापाको भनाइ छ।

विशेष महाधिवेशनको विवादकै बीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बोलाइएको छ। महामन्त्री गुरुराज घिमिरेका अनुसार बैठकमा पार्टीको १५औँ महाधिवेशन, सांगठनिक संरचना, आन्तरिक एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिनेछ।

यसैबीच संस्थापन इतरपक्षले साउन २९ गतेदेखि राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। भेलाको नेतृत्व पूर्वमहामन्त्री डा। शशाङ्क कोइरालाले गरिरहनुभएको छ। उहाँले सर्वोच्च अदालतको पुनरावलोकन आदेशले कांग्रेसभित्र एकताको सम्भावना बढाएको दाबी गर्नुभएको छ।

राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ। देउवा साउन २८ गते स्वदेश फर्किने तयारीमा रहेको आयोजक पक्षले जनाएको छ। देउवाको आगमनसँगै कांग्रेसभित्रको शक्ति समीकरण र विशेष महाधिवेशन विवादबारे संस्थापन पक्ष तथा इतरपक्षबीच थप छलफल र राजनीतिक सक्रियता बढ्ने देखिएको छ।

पार्टी नेतृत्वले एकता कायम गर्ने दाबी गरिरहे पनि पछिल्ला घटनाक्रमले कांग्रेसभित्र संस्थापन र इतरपक्षबीचको दूरी अझै कायमै रहेको संकेत गरेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.