काठमाण्डौं-
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले साउन महिनामा उच्च माग भएकाले ग्यासको कोटा बढाउन भारतसँग आग्रह गर्नु भएको छ ।
पूरा सिलिन्डर बिक्री गर्न सुरु गरे लगतै बजारमा ठुलो मात्रामा एकै पटक माग बढेकाले अभाव भएको उहाँले बताउनुभयो । प्रतिनिधि सभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा उहाँले बजारमा एकै पटक माग बढ्दा अभाव भएको बताउनुभएको हो ।
बढ्दो माग र आपूर्तिबिच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको उहाँले बताउनु भयो ।
हाल ५८ ग्यास उद्योगको भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको पनि उहाँले बताउनुभयो । माग अत्यधिक भएकाले वितरणमा देखिएका समस्या समाधानका लागि भारत सरकारलाई कोटा बढाउन आग्रह गरिएको बताउँदै मन्त्री कुमारीले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।
आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको बताउनुभयो । नेपाल आयल निगम तथा ग्यास उद्योगीसँगको समन्वयमा आयात, भण्डारण तथा वितरण कार्यलाई थप पारदर्शी बनाउन सुधारको कार्य भइरहेको पनि उहाँको भनाइ छ ।
विभागले पछिल्लो समय ४५ भन्दा बढी ग्यास डिपोको अनुगमन गरेको पनि उहाँले जानकारी दिनुभयो ।