रत्ननगर –
रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करण अन्तर्गत मंगलबारदेखि चिकेन एण्ड एग फुड फेस्टिबल सुरु भएको छ ।
रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा रत्ननगर वडा नं १ सौराहाचोक स्थित बसपार्कमा फेस्टिबल सुरु गरिएको हो । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रम बागमती प्रदेश कृषि तथा पशुपंछी विकास मन्त्रालयका निमित्त सचिव शुशील केसीले फेस्टिबलको उद्घाटन गरेका थिए । सो अबसरमा केसीले पोल्ट्री क्षेत्रमा सरकारको लगानी न्यून रहेको बताए ।
पोल्ट्री विकास बोर्ड गठनमा सरकारले चुकेको भन्दै उनले लगानी पनि नगर्ने र पोल्ट्री क्षेत्रको समग्र विकासको लागि किसानहरुबाट माग भएको पोल्ट्री विकास बोर्ड गठनमा समेत सरकार गम्भिर हुन नसकेको बताए । नीतिगत सुधार र पोल्ट्री क्षेत्रलाई लयमा लैजान पोल्टी विकास बोर्ड आवश्यक रहेको भन्दै उनले यसका लागि आफुले पहल गर्ने बताए ।
कार्यक्रममा संघका अध्यक्ष गिरीलले टिकौलीमा महोत्सव चलिरहदा टाँडी बजारलाई पनि चलायमान गराउन तथा कुखुराको मासु र अण्डाको प्रर्बद्धनका लागि फेस्टिबल आयोजना गरिएको बताए । फेस्टिबलमा विभिन्न जातजातीका खानाको परिकारको समेत प्रर्वद्धनका लागि परम्परागत तथा रैथाने खानाका परिकारका स्टलहरु समेत राखिएको अध्यक्ष गिरीले बताए ।
संघका पूर्वअध्यक्ष तथा फेस्टिबलका संयोजक ज्ञानबहादुर विसुरालले कुखुराको मासु र अण्डाको खपथ बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासु र अण्डाको विशेष परिकार तथा जनजातीका परिकार सहित फेस्टिबल आयोजना गरिएको जानकारी बताए । फेस्टिबलमा १५ वटा खानाका स्टलहरु रहेका छन् । बेलुका पाँच बजेदेखि राती १० बजे सम्म सञ्चालन हुने खाना महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने संयोजक विसुरालले बताए ।
संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हेटौडाकी पशु विकास अधिकृत डा.सुस्मिता भट्टराई, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.प्रभात न्यौपाने लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनात भट्ट, रत्ननगर उवासंघका बरिष्ठ उपाध्यक्ष निराजन खनाल लगायतको उपस्थिति रहेको थियो ।
फेस्टिबलको प्रवद्र्धकमा पशु सेवा विभाग, राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय, वागमती प्रदेश, पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा कार्यालय, प्रायोजकमा नेपाल कुखुरा व्यवसायी मञ्च, चितवन र सह प्रायोजक याक ब्रुअरीको वाह्सिंगे, हिमालयन डिष्ट्रिलरी रहेका छन् । उता संघको आयोजना र रत्ननगर नगरपालिका संरक्षक रहेको रत्ननगर महोत्सवको पाँचौ दिन सम्म आइपुग्दा अबलोकनकर्ताहरुको संख्या बढ्दै गएको छ ।
महोत्सव अबलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । यस पटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अबलोकन मुख्य आर्कषणको रुपमा रहेको छ ।
महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका उपाध्यक्ष रामशरण नेपालले बताए । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको नेपालले बताए । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ ।
महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरु समेत रहेका छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ ।