आज मितिः २०८२ असार २५ गते

अस्ट्रेलियाको क्यानबेरामा ‘नेपाल महोत्सव–२०२५’ सम्पन्न

अस्ट्रेलिया-

अस्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो ।

कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यानबेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे १० बजेदेखि सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुंगिएको थियो । पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखेनाच र कुमारीनाच प्रस्तुत गरिएको थियो ।

सो अवसरमा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्था, स्थानीय अस्ट्रेलियालीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यसैगरी, राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा अस्ट्रेलियाली सरकारका अर्थमन्त्री केटी गालागार, केन्द्रीय सांसद डेभिड स्मिथ, कूटनीतिक नियोगका प्रमुखहरू, अस्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य सरकारका बहुसांस्कृतिकमन्त्री माइकल पेटरसन र यातायतमन्त्री क्रिस स्टिललगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाली कला संस्कृति झल्काउने प्रदर्शनी, नेपाली खानाका फुडस्टल, बालबालिकाहरूका लागि चित्रकला राखिएको थियो ।

नेपाली पहिचानलाई विश्वमाझ पुर्‍याउने अभियानका रूपमा सन् २००९ देखि गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले नेपाल महोत्सव आयोजना गर्दै आएको अध्यक्ष अनिल पोखरेलले बताए ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत यादवले क्यानबेराका नेपालीले राम्रो गरिरहेको र नेपाली समुदायले नेपाल र नेपालीलाई गर्वको महसुस गराएको बताए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.