काठमाण्डौ । गीत संगीतको क्षेत्रमा करिब डेढ दशक लामो संघर्ष गरिसकेकी गायिका सुनिता सुनारको स्वरमा सजिएको गीत “बम्बैको सारी” सार्वजनिक भएको छ । गीतमा उनलाई गायक हरि गिरी बिमर्शीले साथ दिएका छन् । एक साता अघी गायिका सुनिता सुनारको आफ्नै यु-ट्युव च्यानल बाट सार्वजनिक उक्त गीतलाई १ लाख भन्दा बढी पटक हेरिएको छ । गीतमा हरि गिरी बिमर्शीको शव्द अनि संगीत रहेको छ भने भिडियोमा रामजी लामिछानेको निर्देशनमा संचिता बोलखे र प्रभात पाल ठकुरीले अभिनय गरेका छन् ।
विक्रम सम्बत २०५४ सालमा लमजुङमा जन्म लिएकी गायिका सुनिता सुनार २०६४ सालमा चितवन बसाईसराई गरेर आए संगै गीत संगीतमा वाल्य अवस्था देखि नै झुकाव राख्दै विद्यालयका कार्यक्रमहरुमा गीत गाउन थालिन् । २०६८ सालमा भने दोहोरी साँझबाट व्यवशायिक गायन यात्रा थालेकी उनले वरिष्ठ गायिका विमा कुमारी दुरालाई संगीतको आदर्श मान्छिन । दुराका गीत हरु सुनेर नै संगीतमा प्रभावित भएकी सुनारले चितवन र काठमाण्डौका दोहोरी साँझहरुमा आफ्नो भविष्य खोज्दै हिड्ने क्रममा करिब एक दर्जन गीत रेकर्ड गरिसकेकी छिन ।
देश भित्रका धेरै मेला महोत्सवका स्टेज कार्यक्रमहरुमा प्रतक्ष्य दोहोरीमा समेत सुनार चर्चित छिन । उनले यु-ट्युबमा सार्वजनिक हुने प्रतक्ष्य दोहोरीहरुमा समेत धेरै पटक सहभागिता जनाईसकेकी छिन । लोक दोहोरीले मौलिकतालाई जोड दिनु पर्ने उनको बुझाई छ । लोक संगीतले नेपाली समुदायको जनजीवनलाई देखाउन भूमिका खेलेको भन्दै आफु पनि सधै मौलिकतालाई अनुशरण गर्दै अगाडी बढ्ने उनि बताउछिन । पछिल्लो समयका केही गीत संगीत छाडा आएनी भन्ने हाम्रो प्रश्नमा उनि भन्छिन “सर्जकहरुले निकाल्नु भएको त्यो खालका सिर्जनाले लोक संगीतलाई मजबुत बनाउदैन” ।
लोक संगीत नेपाली माटोको प्रष्ट दर्पण भएको भन्दै ढिलो चाडो यो क्षेत्रको गरिमा थप उचाईमा पुग्नेगरि आफु लागिपर्ने उनि बताउछिन । गुल्मीका समशेर सुनार संग वैवाहिक जिन्दगी सुरु गरेकी उनलाई पारिवारिक साथ भरपुर रहेका कारण नै यो क्षेत्रमा टिकिरहन सजिलो भएको उनको बुझाई छ ।