आज मितिः २०८३ बैशाख १४ गते

रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही मंसिर ७ गतेदेखि सुरु हुने पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत काम पुरा भएको आयोजकले जनाएको छ । द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौर हुन लागेको हो । महोत्सव स्थलमा स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको र प्रचारप्रसादको काम तीब्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।

क्लवले गर्न लागेको उक्त महोत्सव दोस्रो संस्करण हो । कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्धन गर्ने, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला, संस्कृति र सभ्यतालाई प्रवद्धन गर्ने, उत्पादक तथा सेवाप्रदायक र उपभोक्ता बीच बलियो सम्बन्ध निर्माण गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिइने क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक संजय लोप्चन तामाङले जानकारी दिए ।

महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने, व्यवसायीहरू बीचको अवसर, समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए । १५० वटा स्टल रहने सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्ने कार्यलाई विशेष प्राथमिकता दिइने छ ।

चर्चित कलाकारहरु प्रमोद खरेल, सुगम पोखरेल, रचना रिमाल, ज्योति मगर, मिस्टर डी, एलिना चौहान, दुर्गेश थापा, प्रिति पासवान, बद्री पंगेनी,अनित विष्ट,राजु परियार, मिलन लामा, पशुपती शर्मा, कुलेन्द्र विश्वकर्मा, विश्व दोङ, विशाल काल्ताङ, श्याम राना, अनु चौधरी, रमेशराज भट्टराई, प्रितम मल्लको प्रस्तुति रहने छ । महोत्सव अन्तर्गत मंसिर १४ गते मंगोलियन हट लाइभकन्सट हुनेछ । करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.