आज मितिः २०८३ बैशाख ८ गते

अस्पतालका उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं-

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन्।

अस्पतालमा खेर गइरहेका उपकरण मर्मतमा सघाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो।

केन्द्रले मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिने र त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने सम्झौतामा उल्लेख छ ।

मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरेका छन्। ‘देशको सीप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरुको योगदानलाई यो राज्यका तर्फबाट कदर हो। स्वदेशी सीपमा कम खर्चमा उपकरणको मर्मत हुने आशा लिएको छु,’ उनले भने।

केन्द्रका अध्यक्ष महावीर पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे। ‘राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ’, उनले भने, ‘अब हामी हाम्रै श्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्नेछौं ।’

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.