काठमाण्डौ-
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा काभ्रेमा सबैभन्दा धेरै २० मिलिमिटर वर्षा भएको छ ।
काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा पनि रातिदेखि लगातार झरी परिरहेको छ ।आज अझ धेरै र ठूलो वर्षा र हिमपातकोे सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ ।
आज राति पनि देशका केही ठाउँमा ठूलो वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार भोलि बेलुकादेखि वर्षा गराउने प्रणाली कमजोर हुँदै बाहिरिने सम्भावना छ । पर्सि आइतवारदेखि भने मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ ।आइतवार देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ । तर ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति निकालेर भोलिसम्म हावाहुरी, चट्याङ, हिमआँधी र ठूलो वर्षाको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । सम्भावित वर्षा, बाढी पहिरो, चट्याङ र हिमपातको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको पालना गर्न मौमसविद्को आग्रह छ ।