रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु
काठमाडौं- रूसी सेनामा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको मृत्यु भएको हो। यससँगै रूसी सेनामा भर्ना भई मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ। यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको थियो भने एकजना युक्रेनी सेनाको बन्दी अवस्थामा रहेका छन्। नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ।