काठमाडौं –
हमासकोइजरायली सेनाको अस्पतालमा, कब्जामै मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा ल्याइपुर्याइएको छ । इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजिप्टको सहर शर्म अल–शेखमा गाजा शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सीसीसँग मिलेर यो सम्मेलनको नेतृत्व गरेका थिए । विश्वका २० भन्दा बढी देशका नेताहरू त्यहाँ उपस्थित भए पनि इजरायल र हमासलाई भने आमन्त्रित गरिएको थिएन ।
ट्रम्पले आफ्नो टोलीको प्रशंसा गर्दै आफूले यो सबैभन्दा कठिन काम हुने सोचे पनि शानदार टोली र यी देशहरूको सहयोगमा यो सम्पन्न भएको बताए ।
ट्रम्पले इजरायली संसदसमक्ष बोल्दै यसलाई नयाँ मध्य पूर्वको ऐतिहासिक बिहानी भनेका थिए । हमासले गएराति इजरायललाई चार बन्धकको शव फिर्ता गरेको हो । त्यसमध्येका एक हुन् विपिन जोशी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशी कृषि अध्ययनरत विद्यार्थी थिए ।
उनी सन् २०२३ मा इजरायल पुगेका थिए । इजरायल र गाजा सीमा क्षेत्रको किबुज अलुमिम क्षेत्रमा थिए । सोही स्थानबाट ७ अक्टोबर २०२३ मा अपहरण गरिएको थियो । विपिनसहित गाई इलौज, योसी शाराबी र ड्यानियल पेरेजको शव पनि हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको हो ।
यसअघि, हमासले दिउँसो सबै २० इजरायली बन्धकहरूलाई रिहा गरेको थियो । उनीहरूलाई दुई समूहमा छोडिएको थियो । अब हमाससँग कुनै पनि जीवित इजरायली बन्धक नरहेको बताइएको छ । यसको बदलामा इजरायलले हालसम्म २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिसकेको छ ।
इजरायलका विभिन्न अस्पतालहरूमा रिहा गरिएका बन्धकहरू आफ्ना परिवारसँग पुनर्मिलन हुँदा वेस्ट बैंक र गाजापट्टीमा मुक्त भएका प्यालेस्टिनी कैदीहरूले आफन्तहरूलाई भेट्दा भावनात्मक दृश्यहरू देखा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी गराएका छन् ।
विपिनको शव तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा राखिएको र शवको डीएनए परीक्षणको तयारी भइरहेको राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार अमेरिकामा रहेका विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल बोलाएर शव हस्तान्तरणको तयारी गरिएको छ ।
परिवारको जिम्मा लगाएपछि विपिनको शव नेपाल ल्याउने तयारी गरिनेछ ।