आज मितिः २०८३ आश्विन १८ गते

पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर

Uddar News

इस्लामाबाद-

पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७।६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ । पाकिस्तानको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक व्यापार तथ्याङ्कअनुसार अगस्टको तुलनामा पनि सेप्टेम्बरमा निर्यात १६।१ प्रतिशतले बढेको हो ।

अगस्टमा पाकिस्तानको निर्यात दुई अर्ब ५३ करोड डलर थियो । यसैगरी, सेप्टेम्बरमा पाकिस्तानको आयात ११।१ प्रतिशतले बढेर छ अर्ब ४९ करोड डलर पुगेको छ । गत वर्षको सोही महिनामा आयात पाँच अर्ब ८५ करोड डलर थियो । मासिक आधारमा पनि आयात अगस्टको पाँच अर्ब ८२ करोड डलरबाट ११।५ प्रतिशतले बढेको छ ।

निर्यातभन्दा आयात उच्च रहेपछि सेप्टेम्बरमा पाकिस्तानको व्यापार घाटा तीन अर्ब ५६ करोड डलर पुगेको छ । यो गत वर्षको सोही महिनाको तीन अर्ब ३५ करोड डलरको तुलनामा ६।२ प्रतिशत बढी हो ।

तीन महिनामा व्यापार घाटा १० अर्ब ७९ करोड डलर

आर्थिक वर्ष २०२६÷२७ को पहिलो तीन महिनामा पाकिस्तानको कुल निर्यात १०।८ प्रतिशतले बढेर आठ अर्ब ४२ करोड डलर पुगेको छ । सो अवधिमा आयात भने १३।२ प्रतिशतले बढेर १९ अर्ब २२ करोड डलर पुगेको छ । परिणाम स्वरूप पहिलो तीन महिनाको व्यापार घाटा १५।१ प्रतिशतले बढेर १० अर्ब ७९ करोड डलर पुगेको तथ्याङ्कले देखाएको छ । पाकिस्तानको तथ्याङ्क विभागका अनुसार सार्वजनिक गरिएको तथ्याङ्क प्रारम्भिक हो । थप भन्सार सम्बन्धी तथ्याङ्क समावेश भएपछि यी आँकडामा संशोधन हुन सक्ने बताइएको छ । रासस

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.