काठमाण्डौ –
कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम नगर्ने ६ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको निर्माणको सम्झौताअनुसार काम नगरेको भन्दै कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
सडक डिभिजनसँग राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५ देखि २०८० सम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डौलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरी पठाइएपछि ६ वटा निर्माण कम्पनी कालोसूचीमा परेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताउनुभयो ।
सडक डिभिजनले सिफारिस गरेका तीनवटा निर्माण कम्पनीमध्ये ‘विनम्र निर्माण सेवा सुर्खेतलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई २ वर्षका लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
यसैगरी शङ्करमाली निर्माण सेवा काठमाण्डौ र मान शाही निर्माण सेवा कालीकोटलाई ३र३ वर्ष तथा कश्यप निर्माण सेवा काठमाण्डौलाई २ वर्षका लागि कालोसूचीमा राखिएको सूचना यसअघि नै सार्वजनिक भएको सडक डिभिजन कार्यालयका सबइन्जिनियर वीरेन्द्र रावलले बताउनुभयो ।
शङ्करमाली निर्माण सेवाले नाग्म–गमगडी सडक र कश्यप निर्माण सेवाले जुम्ला मनाङ–मुस्ताङको सडक निर्माणको सम्झौताअनुसारको काम गर्न नसक्दा कालोसूचीमा परेका छन् ।
बाँकी निर्माण कम्पनी कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत कालीकोट क्षेत्रका सडक स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगर्दा कालोसूचीमा परेको सबइन्जिनियर रावलले जानकारी दिनुभयो ।