काठमाण्डौ –
अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ । विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन् ।
पहिलो दिनको उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग र दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । यससँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुनेछ ।
तीनवटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । कुल १०४ खेल हुनेछन् । फिफाका अनुसार प्रतियोगिताका लागि १ हजार २४८ खेलाडी छनोट भएका छन् । तीमध्ये ८९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् भने ३५७ खेलाडी पहिले विश्वकप खेलिसकेका छन् ।
यस पटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन् । उद्घाटन खेलअघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ । समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बल्भिन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र मानालगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ ।
मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ । आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ ।
यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो ।