चितवन-
चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा गठबन्धनको जीत भएको छ। एक्लै चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना दल सबै एकै ठाउँ मिलेर जीत हासिल गरेका हुन् ।
गठबन्धनबाट अध्यक्षका उमेदवार नेपाली कांग्रेसका दीपकराज पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका क्षेत्रीय सचिवसमेत रहेका पौडेलले रास्वपाका नन्दुकेशरी खनाललाई ३१४ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा गठबन्धनबाट नेपाली कम्युनिस्ट पार्टीका रामहरि अधिकारी २ हजार ४८८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका प्रलाद ठाकुरले १ हजार ७९९ मत प्राप्त गरे ।
सचिवमा एमालेका प्रताप डल्लाकोटी विजयी भए । उनी पनि गठबन्धनका उमेदवार हुन् । डल्लाकोटीले २ हजार १९९ मत प्राप्त गर्दा उपविजेता बनेका रास्वपाका टेकनाथ प्रसाईंले १ हजार ८६३ मत र जनमोर्चाका डिल्लीप्रसाद पाध्याले ३०४ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा एमालेकी विरन्जना सापकोटा घिमिरे विजयी भएकी छन् । सापकोटाले २ हजार ४१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जयन्तीदेवी रानाभाटले १ हजार ७९० मत प्राप्त गरिन् ।
पदाधिकारी सबै गठबन्धनले जिते पनि लेखा समितिको संयोजक र दुई सदस्य रास्वपाले जितेको छ । लेखा समितिको संयोजकमा १ हजार ५७३ मतसहित रास्वपाका पुण्यप्रसाद देवकोटा विजयी भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका उमेदवार जीवनलाल नगरकोटीलाई पराजित गरेका हुन् ।
लेखा समिति सदस्यमा १ हजार ५११ मतसहित कल्पना शर्मा र १ हजार ७६३ मतसहित तिलक पौडेल विजयी भए ।
मूल समिति सदस्यमा तीन जना पुराना दलहरुको गठबन्धनका उमेदवारले जितेका छन् । दुई जना रास्वपाका विजयी भएका छन् । सदस्यमा बद्रिप्रसाद सुवेदी , ईश्वरबहादुर घिमिरे , आनन्दप्रसाद सुवेदी , रेनुका खनालध र संगीता बस्ताकोटी सहित विजयी भएको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका प्रमुख निर्वाचित अधिकृत प्रकाश खनालले जानकारी दिए ।