चितवन –
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले बाँकी रहेको कार्याकालको मासिक सेवा सुबिधा वापतको रकम पुनर्निमाणमा योगदान गर्ने घोषणा गरेका छन् ।
शनिबार सम्पन्न १७२औं कार्यपालिका बैठकमा बोल्दै उनले मेयरको हैसियतमा आफुले पाउने तलब र भत्ता वापतको रकम नगरपालिका र वडा कार्यालयको पुनर्निमाणमा लगाउने घोषणा गरेका हुन् । नगरको विकास र नगरबासीको हितमा काम गर्ने आफ्नो इच्छाशक्तिबाट आफु विचल्लित नरहेको भन्दै उनले नयाँ उर्जा र हिम्मतका साथ नगरको चौतर्फी विकासमा क्रियाशिल रहने बताए ।
उनले स्थानीय सरकारलाई पुरानै अबस्थामा फर्काउने गरी काममा जुट्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका छन् । जेन्जी आन्दोलनका क्रममा नगरपालिका र वडा कार्यालयमा तोडफोड र आगजनी भएपछि बसेको कार्यपालिका बैठकले विभिन्न निर्णय गरेको छ । आगजनीबाट भएको क्षतिको विबरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ ।
बैठकले तोडफोड र आगजनीको घटनप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना तथा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।
नगरपालिका पूर्णरुपमा ध्वस्त रहेको बेला तत्काल कार्यालय सञ्चालन गर्न सक्ने अबस्था नरहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । नगरपालिका र वडा कार्यालयमा आगजनीबाट भएको क्षतिको विबरण संकलन गर्ने र सकेसम्म छिट्टै कार्यालय सञ्चालन गर्ने गरी उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय सरसफाई गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रकास खनालले जानकारी दिए ।
कार्यपालिका बैठकमा जेन्जी आन्दोलनमा सहभागी भएर नगरपालिका र वडा कार्यालयमा आजगनी र तोडफोडमा केही कर्मचारीहरु समेत संलग्न रहेको भन्दै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले त्यस्ता कर्मचारीको पहिचान गरी तत्काल बरखास्त गर्न माग गरेका छन् ।
बैठकले आन्दोलनमा सहभागी भएका कर्मचारीको पहिचान गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले नगरपालिका नै ध्वस्त हुने गरी गरिएको आगजनी र तोडफोडको घटना केलाउदै स्थानीय कार्यालय सञ्चालन कहिलेबाट गर्ने भन्ने निर्णय अर्को कार्यपालिका बैठकले गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकमा मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक तथा वडाध्यक्षहरुले जेन्जी आन्दोलनले निम्त्याएको परिस्थिति र अबको निकासको बारेमा धारणा राखेका थिए ।
जेन्जी आन्दोलनका कारण रत्ननगर नगरपालिकाका दुईवटै प्रशासनिक भवन तथा १६ वटै वडा कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । आगजनीबाट नगरपालिकाका सबै सवारी साधन र महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।