चितवन –
नेपालको तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा ३५ करोड रुपैयाँको लागतमा रोयल जङ्गल भिल्लाज होटल सञ्चालनमा आएको छ । रत्ननगरका पर्यटन व्यवसायी माधव भट्टराईले ३५ करोड रुपैयाँको लगानीमा सो होटल सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालक माधव भट्टराईले विगत चार वर्षदेखि होटल निर्माणमा जुटेको र अहिले आफ्नो सोच सार्थक भएको बताए ।सौराहामा स्तरीय होटल सञ्चालन गर्ने सोच पहिलेदेखि नै रहेको उनले बताए ।
“हामीले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी यो होटल सञ्चालनमा ल्याएका हौँ,” सञ्चालक भट्टराईले भने, “हाम्रो उद्देश्य केवल होटल सञ्चालन गर्ने मात्र होइन, सौराहाको संस्कृति, प्राकृतिक सम्पदा र आतिथ्यतालाई प्रवर्द्धन गर्नु पनि हो ।”
आफ्नो होटलमा २७ वटा सुविधासम्पन्न कोठा, आकर्षक बगैँचा, राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य अवलोकन गर्न सकिने सुविधा रहेको छ । होटलका कोठाहरू ५ हजार ५०० देखि १० हजार ५०० रुपैयाँसम्मका छन् । होटलमा उच्चस्तरीय सुविधा, सम्मेलन कक्ष, मनोरञ्जनका लागि अत्याधुनिक पूर्वाधार र अतिथिहरूको सहज आवासको व्यवस्था गरिएको प्रबन्ध निर्देशक साकार भट्टराईले जनाएका छन् । उनका अनुसार होटलले करिब ५० जनालाई रोजगारी प्रदान गरेको छ ।