आज मितिः २०८३ बैशाख ६ गते

सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या

बागलुङ-

जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोरमा बर्खामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ। जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा ढुवानी र यात्रा गर्न समस्या भएको हो।

एक दशक अगाडिसम्म निसेलढोरमा बर्खामा मात्र निसीबाट बस्तुभाउ लिएर स्थानीय बसोबास गर्ने गर्थे भने अहिले बाह्रै महिना स्थायी रूपमा बस्नेको सङ्ख्या बढेको छ।

 

अहिले बर्खामा तीन सय र हिउँदमा झन्डै एक सय ५० घरपरिवार निसेलढोरमा बसोबास गर्ने गर्छन्। आर्थिक वर्ष २०७६/७७ मा ढोरपाटनबाट मोटरबाटोले निसेलढोर जोडिएको थियो। निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको भए पनि अप्ठ्यारो सडकका कारण पर्यटक फाट्टफुट्ट मात्र पुग्ने गरेका छन्। बर्खामा यातायात सञ्चालन नहुँदा हिउँदै खाद्यान्न जोहो गरेर राख्नुपर्ने अवस्था रहेको स्थानीय सम्झना विकले बताइन्।

 

ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दा माथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने उनको भनाइ छ। सडक खुलेको यतिका वर्षसम्म सुधार गर्न नसक्दा यहाँका सयौँ स्थानीयले बर्खामा सास्ती खेप्नुपरेको विकले गुनासो पोखिन्। गाडी नचल्दा बजारबाट सामान मान्छेले बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाइन्।

 

विकले भनिन्, “बर्खा किन लाग्दो हो भन्ने हुन्छ, न गाडी चल्छन्, न घोडा खच्चड नै हिँड्न पाउँछन्, बजारबाट सामान ल्याएर उपभोग गर्न साह्रै समस्या छ, हाम्रो समस्या सरकारले सुन्दै सुनेन, यस्तो विकट ठाउँमा छौँ, एक बोरा चामल ल्याउन दिनभर लाग्छ, गाउँमा कोही सिकिस्त बिरामी भए डोकामा बोकेर लैजानुपर्ने बाध्यता छ, यति सडक बने त सजिलो हुने थियो।”

 

निसेलढोरमा आलु, स्याउ र सिमीलगायत कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या हुने गरेको स्थानीय कुले विकले बताइन्। गाउँमा सडक आएपछि हिउँदमा मान्छेले र घोडाले बोकेरै सामान ढुवानी गर्नुपर्ने बाध्याता कम भएको भन्दै चार किलोमिटर सडक व्यवस्थित बनाउन सके बाह्रै महिना निसेलढोरमा गाडी चल्ने उनी बताउँछिन्। असारदेखि कात्तिकसम्म सडक नचल्दा यहाँ उत्पादन भएको वस्तु कुहिने जोखिम रहेको विकको भनाइ छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.