चितवन-
मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम ९गर्डर० राखे कामसँगै रातिको समयमा सडक आवागमन नरोकिने भएको छ। पृथ्वी राजमार्गको नैबिसे(मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ। उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए।
भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो।
क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ। आयोजनाले एक सूचना जारी गरी राति १०स्३० बजेदेखि बिहान ३स्०० बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ।
मुग्लिन-मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ। यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ। चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ् बजार क्षेत्रमा कालोपत्र गरिएको छ। धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ। धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ।
मौसमले साथ दियोभने थप दुई किमी कालोपत्र गर्दैछौँ। आयोजनाका इञ्जिनीयर विजय दरैका अनुसार अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ। धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ।
यो खण्डमा दुई दशमलव दुई किमी छ लेन सडक बन्नेछ। जुन मलेखु, बेनिघाट र मुग्लिन खण्डमा पर्दछ। चार लेन सडक सात दशमलव दुई किमी हुनेछ । यो रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ। उकालो/ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ, इञ्जिनीयर दरैले भने। उनका अनुसार बाँकी सडक डेडिकेटेड दुई लेनको हुनेछ।
विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुङ्गा सडक खण्डलाई तीन ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर छ।