चितवन-
रवि लामिछानेकी पत्नि निकिता लामिछानेले अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन छिट्टै चितवन आउने बताएकी छन् ।
उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकि छन् –
एउटा प्रश्न बाट शुरू गर्छु ः यो देशको भाग्य र भविष्य बदल्छु भनेर आएका रवि लामिछानेहरु यसरी षड्यन्त्रको सिकार हुने हो भने म जस्ता निकिताहरुले भविष्यका रविहरुलाई घरबाट टीका लगाएर राजनीति गर्न किन पठाउछन् ?
आज असार ७ गते, सिङ्गो देशलाई साक्षी राखेर मेरो श्रीमानले आफ्नो नेतृत्वमा एउटा सपना जन्माएको दिन । तेस्रो वर्षमा आइपुग्दा यसका जन्मदातालाई राज्यले कालकोठरीमा थुनेको छ। जबरजस्ती कहिँ ठगी, कहिँ सहकारी ठगी, कहिँ संगठित अपराध रे अनि सम्पत्ति शुद्धिकरण रे , हाम्रो भेट नहुदै मैले आफ्नो व्यवसाय गरी कमाएको सम्पत्ति लाई समेत कसुर गरी कमाएको भनेर सम्पत्ति शुद्धिकरणको मुद्रा कसरी चल्न सक्छ ? रवि लामिछाने कुनै पनि सहकारीको सदस्य शेरधनी बचतकर्ता कर्मचारी भएको एउटा प्रमाण छ भने आउनुस् म कहाँ । देखाउनुस् मलाई प्रमाण। श्रीमान कारागारमा भएपनि म यहीँ छु। कसको कति पैसा खायो मेरो लोग्नेले ? आर्थिक विषयको मुद्दामा करोड करोड धरौटी लिइसकेपछि पनि मान्छेको हाड,छाला,पसिना,रगत लिने ? यही हो अनुसन्धान ? यही हो न्याय ? यही हो सरकार ? यही हो अदालत ? यही हो बुद्धिजीवी समाज ? यही यो मानवअधिकार ? यो देश तीन वर्ष राजनीति गरेको मेरो लोग्नेले लुटेको हो ? देशकै सबैभन्दा ठूलो अपराधी जस्तो एउटा मान्छेलाई कति मुद्दा लगाएको,कति दुःख दिएको, कति अपमानित गरेको ? कसरी सहेको होला उसले ।
पार्टी स्थापनाको तेस्रो वर्षमा आइपुग्दा म दुःख पीडाको पहाडले थिचिएको छु । म घर सम्हाल्छु,तिमी देश सम्हाल भनेर मैले हाँसी हाँसी सिङ्गो देशलाई साक्षी राखेर उसलाई टिका लगाएर पठाएकी हुँ। घरबाट निलो रङ्ग बोकेर निस्केको मेरो श्रीमान किन घर फर्किएको छैन ।म राजनीति जान्दिन, जान्नु पनि छैन तर कसैले मेरो निर्दोष श्रीमानलाई छिटो घर फर्कने बाटो देखाइदेउ । उसले कुनै अपराध गरेको छैन । कसैले किन्न नसक्ने स्वाभिमान भएको मेरो रवि लामिछानेले कसैको एक पैसा खाएको छैन।जीवनमा धेरै दुःख कष्ट र संघर्ष पार गरेर हामी दुईलाई दैवले जुराइदिएका हुन् तर आज म एक्लो भएँ ।आठ(आठवटा अदालतको मुद्दा( कसरी झेलौँ , कसरी थेगौँ ( आर्थिक अनि मानसिक रुपमा पनि ममाथि बज्रपात भएको छ। हो, जीवनमा दुस्ख आइलाग्छ। सास्ती खेप्नुपर्छ। शत्रु लाग्छन्। तर, भवितव्यका रुपमा, अस्थायी प्रकृतिमा। हामीलाई यी सबै आइलागे प्रायोजित रुपमा, त्यो पनि राज्य प्रायोजित। राज्यले आफ्नो कुनै नागरिकविरुद्ध यो हदको दुश्मनी र यो हदको प्रतिशोध किन साँध्छ ?
पाप र धर्ममा विश्वास गर्नेहरुबाट यो हदको अत्याचार हुँदैन। धर्म नमान्दैमा पाप नलाग्ने पनि होइन,
यो अन्यायको पराकाष्ठाको हिसाब/किताब ढिलो/चाँडो यही धर्तीमै हुन्छ। कोही नभए पनि मेरा भगवान छन्।
आफ्नो श्रीमान माथि भएको अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन म छिट्टै चितवन आउँदै छु। किनकि चितवनले हामीलाई आफ्नो परिवार मानेको छ।