चितवन-
वैदेशिक रोजगारीका लागि जाने क्रममा चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले ठगी गरेको भन्दै पीडितले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडक पक्षले पत्रकारहरु माथि हातपात गरेका छन् ।
समाचार संकलन गर्न पुगेका पत्रकारहरु माथि पत्रकार सम्मेलनकै क्रममा हल भित्र प्रवेश गरेर पीडक पक्षका व्यक्तिहरुले हातपात गरेका हुन् । बेलायत लैजान्छु भनि नलगेपछि पैसा फिर्ता माग्दा नदिएकोमा न्याय पाउँ भनि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा समेत सुनुवाई नभएको भन्दै पीडितहरु भरतपुर–४ निवासी अञ्जु कँडेल र शान्ति कँडेलले पत्रकार सम्मेलन गरेका थिए । आफ्ना कुरा राख्दै गर्दा पीडक भनिएका भरतपुर महानगरपालिका–४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर–४ बस्ने २३ वर्षीय सागर खरेल, काभ्रे पाँचखाल नगरपालिका–८ का ३३ सविन थापालगायतको समूह पुगेर पत्रकार सम्मेलन बिथोलेका थिए । पत्रकार सम्मेलनमा अर्को पक्ष प्रवेश गरेर बिथोलेपछि पत्रकारहरुसंग भनाभन हुँदा पीडकहरुले पत्रकारहरु माथि हातपात गरेका हुन् ।
घटनाले उग्र रुप लिएपछि चितवनका प्रहरी प्रमुख गोविन्द पुरी घटनास्थलमै पुगेका थिए । घटनालगत्तै नेपाल पत्रकार महासंघ चितवनले पीडित पत्रकारहरुको तर्फबाट प्रहरी प्रमुखलाई दोषीलाई कडा कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । जिल्ला अध्यक्ष बसन्त पराजुलीले दोषीलाई कारवाही नभए कडा कदम चाल्ने चेतावनी दिए । ‘पत्रकार सम्मेलन नै बिथोल्न पीडक पक्ष पुगेका थिए, उनीहरुले पत्रकारहरु माथि हातपात गर्नु निन्दनीय छ, दोषीलाई कडा भन्दा कडा कारवाही होस्’–अध्यक्ष पराजुलीले भने ।
जवाफमा प्रहरी प्रमुख पुरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि सकेको भन्दै अन्य संलग्नहरुको खोजी भइरहेको बताए । उनले दोषीलाई कानुनी कारवाही गरिने प्रतिवद्धता जनाए । प्रहरी प्रमुख पुरीले पीडक पक्षलाई लिएर पत्रकार सम्मेलनमा नपुगेको स्पष्टीकरण समेत दिए । ‘पत्रकार माथि हातपात गर्ने जो कोही होस् हामी छाड्दैनौं, केहीलाई नियन्त्रणमा लिइ सकेका छौं, अनुसन्धान गरेर अरु संलग्नलाई पनि कारवाही गछौं’–प्रहरी प्रमुख पुरीले भने ।
घटना पछि पत्रकार महासंघलगायत सम्बद्ध पत्रकार संघसंगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पीडक प्रहरीसँगै प्रवेश गरि गुण्डागर्दी शैलीमा पत्रकारहरु माथि आक्रमण गरेको घटनाप्रति घोर भत्सर्ना अराजकतालाई प्रोत्साहन गर्ने प्रहरीहरुसहित आक्रमणमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि, कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ ।
विज्ञप्तीमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, नेपाल प्रेस युनियन चितवन शाखाका उपाध्यक्ष प्रस्ताव सुवेदी, प्रेस चौतारी नेपालका सचिव लक्षमण गौतम, प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्य, समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना, जनपत्रकार संगठन चितवनका अध्यक्ष होमनाथ न्यौपानेले हस्ताक्षर गरेका छन् ।
पीडकहरुले पत्रकारको क्यामेरा धकेल्ने, खिचेको फोटो, भिडिओ डिलिट गर्न दबाब दिने, कुटपिट गर्ने गर्दा प्रहरी मुकदर्शक भई बसेको थियो ।