आज मितिः २०८३ बैशाख ५ गते

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अवरोध गर्ने, माओवादी र राप्रपाले पनि साथ दिने

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् ।

रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको संसद बैठक अवरोध गर्ने तयारी रहेको पार्टी स्रोतले बतायो ।

स्रोतले भन्यो- ‘गृहमन्त्रीको राजीनामा हाम्रो बटमलाइन हो । राजीनामा नआएसम्म सदन सुचारु हुँदैन ।’

रास्वपाको यो अडानले जेठ १५ मा हुने बजेट भाषण पनि प्रभावित बन्न सक्ने देखिएको छ । सत्ता गठबन्धन दलहरूले गृहमन्त्री लेखकको राजीनामाको विषय उछालेर विपक्षी दलहरूले बजेट रोक्न खोजेको आशंका गरेका छन्।

 

यसअघि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सहकारीको विषय उठाउँदै लेखकले ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने’ बताएका थिए। त्यो आफ्नो अभिव्यक्ति उनलाई अहिले भारी परेको छ।

रविमाथि छानबिनको माग राख्दै कांग्रेस सदनमा जुन हदसम्म गएको थियो भोलिबाट सुरु हुने बैठकमा रास्वपाले त्यसको बदला लिने तयारी गरेको छ।

गृहमन्त्री भने यसबारे सदनमा जवाफ दिँदै सबै दोष कर्मचारीलाई थोपरेर पन्छिने दाउमा छन्। त्यसको प्रतिवाद रास्वपाले कडा रूपमा गर्दै छ। तर बजेट ल्याउनुपर्ने बाध्यताले सरकार दबाबमा छ।

रास्वपाले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित सबै विपक्षी दलहरूलाई पनि आफूहरूको अडानमा साथ दिन आग्रह गरेको छ ।

प्रवक्ता मनिष झाद्वारा विज्ञप्तिमा भनिएको छ, प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ भन्ने दृष्टान्त अनुरूप यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो पार्टीले पनि गृहमन्त्रीको राजीनामा मागिसकेको बताए। उनले भने, ‘प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेर हामीले भनिसकेका छौँ। अब भोलिको बैठकमा कसरी प्रस्तुत हुने छलफलमा छौँ।’

गृहमन्त्रीको विषयलाई लिएर सदनमा प्रस्तुत हुनेबारे सबै प्रतिपक्षसँग सल्लाह गरेर निष्कर्षमा पुग्ने माओवादीका सचिव देवेन्द्र पौडेलले बताए।

उनले भने, ‘विपक्षी दलहरूसँग कुरा हुँदैछ, भोलि बैठक बस्नुअघिसम्म हामी निष्कर्षमा पुग्छौँ।’

उनले आफूहरूले गृहमन्त्री संलग्न नै हुनुहुन्छ नभनेको भन्दै प्रश्न उठेपछि छानबिन सहजीकरण गर्नको लागि राजीनामा दिनुपर्छ भन्ने अडान राखेको सुनाए।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री लेखकको र प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै सदन अवरोध गर्ने जनाएका छन्।
गोकर्णेश्वरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘हामी भ्रष्टाचारविरुद्धमा एकजुट छौँ। एकजुट भइसकेपछि चाहे जोसुकैलाई होस् हाम्रो साथ रहन्छ। भिजिट भिसा प्रकरणबारे हामी पनि १३ गतेको संसदमा जवाफ माग्छौँ। गृहमन्त्री मात्र होइन, प्रधानमन्त्रीको पनि राजीनामा माग्छौँ।’

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.