काठमाडौं-
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर विवादमा आएकी
रोशनी शाही भक्तपुरमा आफ्नै कोठाभित्र मृत फेला परेकी छन्।
आइतबार सूर्यविनायक नगरपालिका-३ बालकोटस्थित आफ्नै कोठामा मृत फेला परेकी हुन्। कोठाभित्र चुकुल लगाएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
घरमा अन्य कोही सदस्य नभएको बुझिएको छ। उनका पति विराटनगरमा रहेकाले खबर गरिएको प्रहरीले जानकारी दिएको छ। उनका छोराछोरी भने विदेशमा छन्।
२०७६ असोज १२ गते साँझको समयमा तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्ने तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो। त्यसक्रममा महराको चस्मा फुटेको थियो।
सोही घटनालाई लिएर उनले महराविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेकी थिइन्। महराले जबर्जस्ती करणीको प्रयास गर्दा आफूले प्रतिकार गरेको भन्दै उनले आफूलाई निर्घात कुटपिट गरेपछि कराएकोमा कोठाबाट भागेको जाहेरी दिएकी थिइन्।
उक्त मुद्दामा महरालाई काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो।