आज मितिः २०८३ बैशाख ५ गते

राप्रपा अध्यक्ष लिङ्‍देनको अभिव्यक्ति प्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौं-

नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोटेश्वरस्थित भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा कांग्रेसका एक सहमहामन्त्रीका छोरासमेत संलग्न भएको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज विज्ञप्तिमार्फत कांग्रेसका एक सहमहामन्त्रीका छोरासमेत संलग्न भएको, प्रहरीद्वारा समातिएको र गृहमन्त्रीको आदेशले उनको रिहाइ गरिएको भनी अध्यक्ष लिङ्देनले दिनुभएको अभिव्यक्ति भ्रमपूर्ण रहेको भन्दै भत्र्सना र निन्दा गरेको छ। कांग्रेसले राप्रपाका कार्यकर्ताहरुले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्ने उद्देश्यले सो अवाञ्छित कार्यको दोष एक जिम्मेवार र सभ्य नागरिक माथि लगाएको भन्दै निन्दा गरेको छ।

यही वैशाख १२ गते राप्रपा अध्यक्ष लिङ्देनले संसद्मा आफ्नो मन्तव्यका क्रममा सो अभिव्यक्ति दिएका थिए। एउटा राजनीतिक पार्टीका अध्यक्षकोतर्फबाट संसद्मा आधारहीन कुरा प्रस्तुत गर्नुभन्दा पनि आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउनतर्फ विशेष ध्यान दिन विभागका प्रमुख मीनबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले अध्यक्ष लिङ्देनलाई राजनीतिक अभिष्ट पूरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र संसद्समेतको गरिमालाई ध्यानमा राख्न आग्रह गरेको छ। साथै त्यस्ता कपोलकल्पित र भ्रामक कुराबाट सचेत रहनसमेत कांग्रेसले सबैलाई आग्रह गरेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.