आज मितिः २०८३ बैशाख ५ गते

सहकारी ठगीमा सांसद राईलाई तीन दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं-

प्रतिनिधि सभा सदस्य माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।

शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो। उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो। सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन्।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्। राईसमेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।

उनी जनजाति कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य छिन्। उनी समानुपातिक सांसद हुन्।

सांसद राई पक्राउबारेको सूचना आज नै प्रतिनिधि सभाका सदस्यहरुलाई जानकारी गराइएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी हुन्।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.