अर्जुन बस्ताकोटी/ रत्ननगर –
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जिउँदो शहीदको रुपमा चिनिएकी सावित्रीदेवी नेपाललाई अभिनन्दन गरेको छ । पार्टीको जिल्ला कमिटीले रत्ननगर वडा नं ३ को वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी सावित्री नेपाललाई अभिनन्दन गरिएको हो ।
माओवादी जनयुद्धमा महत्वपूर्ण भूमिका खेलेकी नेपाललाई उनको योगदानको कदर गर्दै औपाचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । सावित्री नेपालका परिवार नै माओवादी आन्दोलनमा समर्पित भएका थिए । तत्कालिन अबस्थामा लामो समय राज्यपक्षबाट बेपत्ता पारिएकी नेपाल अहिले दीर्घरोगी छन् ।
कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी बागमती प्रदेश संयोजक चन्द्रहरि सुवेदी(अटल), जिल्ला सेक्रेटरी विकास सापकोटा, क्रान्तिकारी महिला संगठनकी केन्द्रीय अध्यक्ष अम्विका मुडबरीले दोसल्ला र प्रमाणपत्रले अभिनन्दन गरेका थिए । कार्यक्रममा सावित्रीका परिवारका सम्पूर्ण सदस्यहरु सहभागी थिए । कार्यक्रममा नेकपा एमालेका नेता प्रकास खनाल सैलेश, माओवादी केन्द्रकी नेतृ तथा पूर्व प्रदेश सांसद कन्चन खनाल, सो पार्टीकी नेतृ अम्विका मुडबरी, वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, नेपाली काँग्रेसका वडा सभापति बसन्त देवकोटा, नेकपा एमालेका नेता राजेन्द्रकुमार कोइराला, माओबादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य सुरेश शाही, सोही पार्टीका अर्का नेता हिमालय प्रसाद खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णप्रसाद अधिकारी, राप्रपाका पतिराम चौधरी, नेकपा एसका मानबहादुर बयलकोटीले नेपाली राजनीतिमा सावित्री नेपालको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा सावित्री नेपालका छोरा मधुर नेपालले माओवादी आन्दोलनलाई सार्थक विन्दुमा पु¥याउन आमाले खेलेको भूमिका र अहिले स्वास्थ्य अबस्थाका विषयमा जानकारी गराएका थिए । जिल्ला सेक्रेटरी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सावित्री नेपालका श्रीमान चन्द्र नेपाल, कान्छाछोरा रुपक नेपाल, बुहारीहरु समिरा नेपाल र प्रमिला नेपाल सहित वडा सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधि, खानेपानी तथा आमा समुह, सहकारी संस्था तथा मेलमिलप, विद्यालय लगायतका प्रतिनिधिहरु सहभागी थिए ।