आज मितिः २०८३ बैशाख ५ गते

कतारको राष्ट्रिय दिवस र यसको सन्देश ‘एकता नै बल हो’ – प्रोफेसर मोहम्मद रमजान अलि मियाँ

कतारको यो वर्षको राष्ट्रिय दिवसको मुलनारा हामी तपाईंको प्रशंसा गर्छौं, सिंहासनका प्रभु, हामी सबै कार्यहरूमा तपाईंको निर्णय स्वीकार गर्दछौं । We praise you, the Lord of the Throne, We accept your judgment in all actions. यो नारा कतारका संस्थापक नेता शेख जासिम बिन मोहम्मद बिन थानीको कवितामा आधारित छ । यस नाराले देश बनेको जगले बनाएको विकसित विश्वासको व्याख्या गर्दछ । यसले यस भूमिमा बस्ने मानिसहरूको दृढता पनि देखाउँछ ।

 

कुनै पनि देशका जनताले स्थिरताको चित्रण गर्छन् भन्ने दर्शाउँछ । जसको श्रेय उनै सृष्टिकर्ता पालनहार अल्लाह (इश्वर ) प्रति समर्पित छ । हामी हरेक अवस्थामा उनै प्रती कृतज्ञता व्यक्त गर्दै उनको फैसला र नीति लाई स्विकार गर्दछौं । सन् १८२७ मा यसै जजिरतुल अरबमा जन्मिएका शेख जासिम बिन मोहम्मद अल थानीले बुवाको बृद्ध अबस्थासँगै सन १८७६ मा शासन सम्हालेका थिए ।

सन् १८७८ मा बुवा मोहम्मद बिन थानीको निधन पछि मात्रै मुलुकको पूर्ण जिम्मेवारी लिए । उनले सोही वर्ष स्वशासित राज्यहरूबाट मेयर तथा डेपुटी गभर्नरको उपाधि पनि प्राप्त गरे ।त्यो कठिन समयमा स्वशासित राज्यहरूले अल जुबाराह, दोहा, अल वक्रा र अल खोरमा प्रशासकलगायत ओटोमन अधिकारी नियुक्त गरेर कतारमा आफ्नो प्रभाव बढाउन खोजिरहेका थिए । साथै उनीहरुले दोहामा भन्सार स्थापना गर्नुका साथै दोहाको स्वशासित क्षेत्रमा सैन्य बललाई अझैं बलियो बनाएका थिए । शासनको सुरुवाती वर्षहरुमा उनले राष्ट्रिय भावनाका साथ कतारी जनतालाइ एकजुट बनाउन निक्कै मिहिनेत गरे । उनले हार्वरहरु र बन्दरगाहहरुको सुधार गर्दै स्थानीय स्रोत मोतिको ब्यापार प्रर्वद्धन गर्ने निति अवलम्बन गरे ।इतिहासका पाना पल्टाउँदा र त्यतिबेलाका घटना र दस्तावेजहरुले प्रमाणित गरे अनुसार शेख जासिममा महान मानवीय मूल्यहरुको गहिरो बुझाइ तथा कतारी नागरिक मात्र नभएर सबै उत्पीडित र दुःखीलाई न्याय र सुरक्षा प्रदान गर्नुपर्ने आवश्यकताप्रति प्रष्ट विश्वास थियो । यसबाहेक शेख जासिम बिन मोहम्मद युवावस्थादेखि नै अध्ययनशील र ज्ञानको दायरा फराकिलो पार्न सक्रिय हुनुहुन्थ्यो । उहाँले अध्ययनलाई प्रोत्साहित गर्नुपर्ने र हुर्काउनुपर्ने विषयलाई आधारभूत मूल्यको रुपमा लिनुभयो ।

 

अरब तथा इस्लामिक इतिहासले शेख जासिमलाइ ज्यादै थोरै मानिसले मात्र सम्पन्न गर्न सकेका कामका लागि प्रशंसा गर्दछन् । उहाँको समयमा दोहा अध्ययन र ज्ञानको प्रकाशस्तम्भ थियो । इस्लामिक जगतका वरिष्ठ विधिवेत्ता र न्यायाधीशहरु यहाँ आउँथे । उनले जुरिस्टहरुलाइ बोलाएर कुरआनिक स्कुलहरु स्थापना गर्दै मानव जीवनको सफलताको अहम सुत्रधार शिक्षाको प्रर्वद्धनमा विशेष ध्यान दिए । धार्मिक रुपमा एकता ल्याउन उनले मस्जिद निर्माण र मानिसहरू बीचको कलह साम्य पार्न महत्वपूर्ण योगदान गरे । यतिमात्र होइन अध्ययन र ज्ञान आर्जनमा रहेको उहाँको लगावलाई कतार र छिमेकी मुलुकका शिक्षक र विद्यार्थीलाई वितरण गर्न भारत र इजिप्टबाट उहाँको आफ्नै खर्चमा ल्याइएका वा प्रकाशित थुप्रै सन्दर्भ ग्रन्थहरुले लिपिबद्ध गरेका छन् । शेख जासिमलाइ आफु आफ्नो मुलुकको लक्ष्य र यस क्षेत्रको धार्मिक र वैज्ञानिक पुनर्जागरण, विज्ञान र धर्मको मिश्रण हो र यो दुष्टहरुको समुदाय, अन्याय र असहिष्णुताबाट मुक्ति चाहन्छ भन्ने कुरामा गजबको विश्वास थियो ।

 

बाहिरीस्तरमा शैख जासिम ईस्लामिक क्यालिफेटका बफादार सहयोगी र सशक्त समर्थक थिए । जसका कारण ओट्टोमन अधिकारी संगको उनको सम्बन्ध निक्कै गहिरो बन्यो यसैले गर्दा उनलाइ सेनाको ‘कैमाखम’ उपाधी दिइएको थियो । पछि उनले अर्को उच्च सम्मान (तुर्क भाषामा दिइएको सम्मान) कापुजी–बासी पनि हासिल गरे । यो कतारी आदिवासीलाई उनले दिएको नेतृत्व र वास्तविक आधिकारिकताको लागि थियोे । तर कतारको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने ओट्टोमनको आग्रह र कतारी तथा देशको हित जोखिममा पर्ने भन्दै शैखले त्यसमा जनाएको अस्विकृतिले सैन्य मुठभेट नै निम्त्यायो ।

कतार राज्यले आफ्नो संस्थापकको स्मरण गर्दा मातृभूमिको मर्यादा र पवित्रताको संरक्षण गर्ने उहाँको उत्सुकता तथा मातृभूमिमाथि आक्रमण गर्न वा प्रभुत्व जमाउन खोज्ने जोसुकैप्रतिको उहाँको ठोस अडान सम्झन्छ ।अलवज्बाहको युद्धलाई सम्झँदा समग्र कतारले उहाँको बुद्धिमत्तापूर्ण नेतृत्व र ओट्टोमन राजप्रतिनिधिविरुद्ध सुरु गर्नुभएको ठोस मुठभेडको स्मरण गर्दछ ।जब ओट्टोमन शासन ज्यादै क्रुर प्रकट हुन्थ्यो, उहाँले त्यस्तो अन्यायलाई रहन दिनुहुन्नथ्यो । तसर्थ सन् १८९३ को मार्चमा सम्मानित शेखले आफ्नो ७० को दशक नजिकिँदै गर्दा कतारको आधुनिक इतिहासमा आफ्ना जनताको साथ लिएर ओट्टोमनविरुद्ध निर्णायक लडाइँ लड्नुभयो र कतारी निर्णय प्रक्रियाको स्वतन्त्रतालाई जोड दिँदै तिनीहरुलाई पराजित गर्नुभयो । यो युद्धका विभिन्न परिणाममध्येको एक टर्कहरुले उहाँसामु आत्मसमर्पण गरेको घटना हो ।

ओट्टोमनको अपार शक्तिका बाबजुद नेतृत्व प्रतिको बलियो बिश्वासले तिनलाई पराजित गर्न कतारलाई मदत गर्यो । यी घटनाक्रमहरुमा शेख जासिम बुद्धिमान वार्ताकार र बहादुर योद्धा हुनुहुन्थ्यो ।वास्तवमा अल वज्बाह युद्धको नामले कतारी इतिहासका पानाहरुमा स्मरण गरिने उक्त सैन्य मुठ्भेड कतारको बिजयका साथ सन् १८९३ मा टुंगियो ।जसले गर्दा ओट्टोमनको पराजयलाइ कतारको आधुनिक इतिहासमा कोशेढुङ्गा मानिएको छ । किनभने यसमा शैख जासिम र कतारी जनताले अदम्य साहस देखाएका थिए । अरबी समाजमा साहित्यलाई असामान्य स्थान हासिल छ । कविता तथा शायरी पढ्नु गाउनु र कसैको निम्ति पेश गर्नुलाई निकै सम्मान गरिन्छ । हस्सान बिन साबित अरबी साहित्यका महान ब्यक्ती र समकालीन प्रसिद्ध कवि पनि थिए । कविता शायरीले मानिसमा भिन्नै प्रकारको उर्जा थप्ने कार्य गर्दछ ।
शैख जासिम कवि हुनुका खातिर उनले आफ्नो नबाती कविताको माध्यमबाट जनतालाइ आफू तर्फ निक्कै आकर्षित गर्न सफल भए । उनले आफ्नो कविताहरुको संग्रहको पुस्तक समेत प्रकाशित गरेका थिए जो अत्यन्तै प्रख्यात छ । आज पनी कतारको राष्ट्रियताको विषय उठान हुँदा उनैको कवितालाई आधार मानिन्छ । शैख जासिमले शासनभार सम्हालेको दिन डिसेम्बर १८ सन् १८७८ लाई कतारको इतिहासमा स्वर्ण अक्षरले लेखिएको ऐतिहासिक दिन मानिन्छ । यसैको सम्झनामा कतारमा हरेक वर्ष राष्ट्रिय दिवस मनाउने चलन छ । शेख जासिमको शासनकाल सामाजिक, आर्थिक र जीवनका अन्य सबै पक्षहरुमा सुरक्षा, न्याय र समृद्धियुक्त थियो । मुलुकको समृद्धिमा पनि उनी उत्तिकै चनाखो थिए ।उनकै कार्यकालमा कतार यस क्षेत्रमा मोतिको सबैभन्दा ठूलो स्रोत र केन्द्र बन्यो । शैख जासिमकै पालामा कतारले भारत र पुर्वी अफ्रिकासम्म ब्यापार बिस्तार गर्न सफल भयो । जसले मुलुकमा रोजगारी सिर्जना गर्यो र जनताको जीवन स्तर सुधारमा असामान्य योगदान गर्यो ।

 

कतारलाइ स्वतन्त्र मुलुकको हैसियतमा बिश्वको नक्शामा स्थापित गराएर आधुनिक कतारको संस्थापक मानिने महान नेता तथा कुशल शासक शैख जासिम बिन मोहम्मद बिन अल थानीको सन् १९१३ को जुलाईमा दोहामा निधन भएको थियोे । आफ्नो उत्पत्तिको बलियो जरामा समृद्धिको मार्ग पच्छ्याएको कतार निरन्तर अगाडि बढ्ने र अत्यन्तै चमत्कारिक ढंगले अगाडि बढिरहेको प्रत्यक्ष देख्न सकिन्छ । आफ्ना नागरिक र जनता प्रतिको उत्तरदायित्वलाई सदा शिरोपर राखेर कतारले सदैव आफ्ना जनताको असामान्य माया र अभुतपुर्व समर्थन पाएको छ । चाहे त्यो संस्थापक नेता शैख जासिम बिन मोहम्मद बिन अल थानीको युग होस वा उनका उत्तराधिकारी शैख अब्दुल्लाह बिन जासिम अल थानी(१९१३–१९४९) हुँदै शैख खलीफा बिन हमद तथा शैख हमद बिन खलीफा अल थानीको पुनर्जागरणको कालखण्डमा नै किन नहोस । कतारी जनताबाट अमीरहरुले पाएको बिश्वास तथा राज्य सत्ताप्रतिको ऐक्यबद्धता बिश्वजगतका अन्य शासकहरुको निम्ति पनि अनुकरणीय नै छ ।बर्तमान शैख तमीमले त झन तमीम अल मज्दको लकब नै पाएका छन ।
आफ्ना पुर्वजले देखाएको सुनौलो मार्गलाइ पच्छ्याउँदै आएका बर्तमान अमीर सम्माननिय शेख तमीम बिन हमद अल थानीज्युको नेतृत्वदायी भुमिका यतिबेला बिश्व राजनेताहरु माझ विशेष बहस तथा गहन छलफलको बिषय बन्ने गरेको समय समयमा सन्चारमाध्यममा पढ्न र देख्न पाइन्छ ।

 

वास्तवमै सम्माननीय शेख तमीम बिन हमद अल थानीज्यु अलथानी परिवारको दरिलो खम्बा र असाधारण बिश्वासको पात्र एवं पू्र्खाको उत्तराधिकारीको रुप र अरबको गौरवान्वित इतिहासको सुनौलो ताराको हैसियतमा बिश्व शान्ति समृद्धि तथा एकताका प्रतिक भै अगाडि बढिरहेको देख्दा छाती फुलाएर भन्छु–‘म त कतारमा छु । कतारको समृद्धिलाई नेपाल भित्र्याउन कतारमा सीप सिकिरहेको छु ।’
मौसुफको कार्यकालका दर्जनौं प्रसंशनिय पक्ष हरु छन जसलाइ वर्णन गर्न यहाँ सम्भव छैन् । यद्यपि सारंशमा भन्ने हो भने कतारले हरेक तहतबकाको अधिकारको सम्मान गरेको पाइन्छ । मध्यपुर्वमै मात्र नभनौ बिश्व बजारमै पहिलो पटक श्रमिकको न्युनतम ज्याला तथा पारिश्रमिक तोकेर कतारले श्रमिकक रगत पसिना चुस्न पल्केको लबीलाइ दरिलो पाठ सिकाउन सफल भएको छ । कतारको यस कार्यलाइ स्वयं छिमेकी मुलुकहरूले समेत अवलम्बन नगरी बस्नै सकेनन् । फलस्वरूप कतार श्रमिकको मसिहा बन्न सफल भएको छ ।

 

कला संस्कृति सम्पदाको जगेर्ना गर्न कतारले कतार म्युजिक अथोरेटी कायम गरेर दोहालाइ अरब कल्चरको राजधानीको रुपमा परिचित गराउन सफल कतारले खेलकुदको इतिहासमा त यस्तो छलाङ मार्न सफल भयो कि आज बिश्व चकित र दङ्ग खाएको छ । अरब भुमिमा पहिलो पटक बिश्वकप आयोजना गर्न मेजबानी गर्न पाएको कतारले बिश्व खेलकुद कै इतिहासमा अनौठा र चमत्कारिक रंगशालाहरुको निर्माण अनि ब्यवस्थापन कयौं शताब्दीसम्म स्मरण गरिनेछ । जसमा कतारलाइ पहिलो स्थानबाट झार्न त्यति सजिलो नहोला ।

बिश्व शान्तिका निम्ति अफगान युएसए शान्तिबार्ता होस वा सुडान डार्फुरको शान्ति तथा मेलमिलाप अभियान होस अथवा लेवनानको बिस्पोटनमा रगतले लत्पत्तिएको बैरुतको पीडामा कतारको ममताले भरिएको साथ किन नहोस, सबैमा बिश्वले पाठ सिक्नुपर्ने थुप्रै बिषयहरु छन् । हालैको हमास इजरायल विवाद र द्वन्दमा कतारको मध्यस्थता अफ्नो मिसाल आफै छ ।यद्यपि यस द्वन्दले यतिबेला समग्र अरब जगतलाई तरंगित बनाएको छ ।यहाँको उत्साह र खुशीमा पिडाको बादल मुन्डलाइ रहेको आभास हुन्छ । त्यतिमात्र होइन बिश्वजगत नै इजरायलको यस क्रूर गतिविधिले दुखको आँसु बगाउन बाध्य छ । नेपाल आफ्नो नागरिक विपिन जोशीको आसमा अझैसम्म पनि प्रतीक्षारत छ । विपिन जस्ता हज्जारौं प्यालेस्टाइनी युवा युवती बालबालिका आज पनि इजरायलले बर्षाएको बारुदले ध्वस्त भग्नावेशमा पुरिएर रहेका छन ।

 

तथापि आफ्नो पुर्खाले देखाएको उज्ज्वल मार्गलाइ अनुसरण गर्दै बिश्वमाझ आफ्नो फरक पहिचान बनाउन सफल कतारले वास्तवमै शेख जासिमप्रति उच्च सम्मान ब्यक्त गरेको सर्वत्र देखिन्छ । कतारमा राष्ट्रिय दिवसको बडो उत्साह हुन्छ ,असामान्य तयारीहरु हुन्छन् । कतारी र गैरकतारीको खुशीको कुनै सिमा नै हुन्न । आजको यस ऐतिहासिक दिन पनि उनै महान नेता शैख जासिम अल थानीको स्मरण प्रती समर्पित गर्दै कतारी अमीर ,कतारी सरकार यहाँका आम नागरिक यहाँ रहेका सम्पूर्ण आप्रवासी मित्रहरुलाई यस दिनको अनेकन शुभकामना ब्यक्त गर्दै कतारको राज्यको महान नेतृत्वलाई अभिवादन ।

लेखक- प्रोफेसर मोहम्मद रमजान अलि मियाँ

नेपाली समाज प्रतिनिधि एवं राष्ट्रिय मानव अधिकार आयोग कतारका कानुनी परामर्शदाता हुनुहुन्छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.