आज मितिः २०८३ बैशाख ५ गते

अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउँदै लैजानु आजको प्रमुख आवश्यकता-मोहम्मद रमजान अली मियाँ

आज डिसेम्बर ३ अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस।

यस ऐतिहासिक दिनको बारेमा भन्नू पर्दाअधिकार प्राप्तीका लागि स्वयं अपाङ्गता भएका व्यक्तिहरूको सक्रियतामा सन् १९७६ मा संयुक्त राष्ट्र संघले सन् १९८१ लाई “पूर्ण सहभागिता र समता” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गरेको इतिहास पाइन्छ।त्यसपछि हरेक वर्ष डिसेम्बर ३ लाई यो दिवस मनाइदै आएको छ।

संयुक्त राष्ट्रसंघ यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।आज यस ऐतिहासिक अवसरमा हाम्रो देश नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकाय तथा यस क्षेत्रमा कृयाशिल संघ संस्थाले जनचेतनामूलक कार्यक्रम गरी यो दिन मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न/गराउन वर्तमान सरकारले आह्वान समेत गरेको छ ।

सन् १९८२ को डिसेम्बर ३ तारिखका दिन संयुक्त राष्ट्र संघले अपाङ्गता भएका व्यक्तिहरूको समुदायमा नै पुनर्स्थापना हुनुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सुनिश्चित हुनुपर्ने र देशहरूले अपाङ्गता सम्बन्धी नीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिँदै अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजना पारित गरी लागू गर्यो र यसलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो।विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति वञ्चित छन् । उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवेदन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो ।

अल्पविकशित र विकाशोन्मुख देशहरुमा धेरै न्यून उपलब्धि भएको पाइएकोले दसौँ वर्षको अवसर पारेर सन् १९९२ देखि सो अपाङ्गता सम्बन्धी विश्व कार्य योजना पारित गरेको दिनलाई स्मरण गर्दै डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभर मनाउन थालिएको हो । हाम्रो देशमा सन् १९९३ मा राष्ट्रिय अपाङ्ग महासङ्घको स्थापना भए देखि नेपालमा यो दिवस मनाउन थालिएको हो । अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूल प्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउँदै लैजानु आजको प्रमुख आवश्यकता हो।नेपालले संयुक्त राष्ट्रसंघीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लिखित अधिकार कार्यान्वयनका लागि हस्ताक्षर पश्चात् यस क्षेत्रमा नीति तथा कानून निर्माण गरी अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन पनि जरुरी छ।शिक्षा,स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना, अपाङ्गमैत्री कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताका विषयलाई आत्मसात् गरी स्रोत, साधनलगायत आवश्यक प्रबन्ध मिलाउने प्रक्रिया नेपालमा अझैसम्म फितलो रहेको पाइन्छ।तसर्थ यी कार्यहरुको दरिलो कार्यान्वयनमा राज्यको सरोकारवाला निकाय र क्षेत्रले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा कसैको विमती नहोला।

यस वर्षको मूल नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” भन्ने रहेको छ ।यस ऐतिहासिक दिवसको सम्पुर्ण अपाङ्गता भएकाहरुलाई हार्दिक शुभकामना पेश गर्दछु।

– मोहम्मद रमजान अली मियाँ

राष्ट्रिय मानवअधिकार आयोग कतार।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.