आज मितिः २०८३ बैशाख ११ गते

स्तन क्यान्सर विजेता बीच जमघट तथा अन्तरक्रिया कार्यक्रम

चितवन।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्तन क्यान्सर विजेताहरुले हिजो अनुभव साटासाट गरेका छन् ।  स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा आयोजित “स्तन क्यान्सर विजेता जमघाट तथा अन्तक्र्रिया कार्यक्रम” मा उनीहरुले आफ्नो अनुभव एक अर्कामाझ साटासाट गराएका छन् ।

कार्यक्रममा राष्ट्रिय सभाका निवर्तमान सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले आफू पनि स्तन क्यान्सर प्रभावित रहेको भन्दै आफ्नो अनुभव सुनाउनुभयो । उहाँले शुरुवातमा पोलेको जस्तो भएर नेपालका विभिन्न ठाउँमा परीक्षण गराउँदा समेत पहिचान हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा पहिचान हुन नसकेपछि दिल्ली गएँ, त्यहाँ पनि पहिलोपटक पहिचान हुन सकेन, १० दिनपछि पुनः परीक्षण गर्दा स्तन क्यान्सर पहिचान भयो ।”

उच्च मनोबलका साथ उपचारमा लागेमा स्तन क्यान्सरलाई परास्त गर्न सकिने बताउँदै उहाँले हरेक कुरालाई सकारात्मक ढंगले लिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो “क्यान्सर भयो भनेर सुन्दा पनि आफूलाई कमजोर बनार्ईन, क्यान्सरलाई जित्छु होला, म बच्चु होला भन्ने भयो ।”

क्यान्सरको उपचारपछि एक महिना आराम गरेर निरन्तर काममा जोडिएको भन्दै उहाँले आफूले स्तन क्यान्सर विजेताहरुको अनुभव सुनेको बताउनुभयो । उहाँले थप्नुभयो “स्तन क्यान्सरको उपचारपछि २७ वर्ष बाँचेको पनि भेटेँ, २० वर्ष बाँचेको पनि भेटेँ ।”

क्यान्सर लागेपछि जीवनको महत्व अझै बढेको अनुभूति भएको उहाँको अनुभव छ ।
उहाँले अगाडि थप्नुभयो “एउटा मोबाईलको त चार्ज सकिन्छ कि ? बिग्रन्छ कि भनेर कति धेरै केयर गर्दछौं, तर आफ्नो जिन्दगीका बारेमा सोचेकै रहेनेछौं ।” समयमा स्वास्थ्य परीक्षण गर्ने कुरा र खानपानलाई व्यवस्थित गर्ने कुरा हामीहरुले नसोच्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “रोग लागिसकेपछि शरीरलाई पनि समय दिनुपर्दाे रहेछ भन्ने भयो ।” धेरैले अहिले शुरुमा के भएको थियो ? भनेर सोध्ने गरेको भन्दै सुझाव दिनुभयो “मैले सबै दिदी बहिनीहरुलाई समय समयमा परीक्षण गर्न सुझाव दिंदै आएको छु । स्तनमा सामान्य गाँठागुँठी आएमा पनि परीक्षण गर्न सुझाव दिन्छु ।”

आफूले शुरुवातमै रोग पहिचान गर्न सकेकाले निको पार्न सफल भएको भन्दै केही समस्या हुने वित्तिकै परीक्षण गर्न जान सुझाउनुभयो ।क्यान्सर रोगको रोकथाम, पहिचान र उपचारका लागि राज्यको तर्फबाट गर्ने कुराहरुमा आफूहरुले झक्झक्याईरहेको उहाँको भनाई थियो । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई सुविधासम्पन्न बनाउनु पर्ने भन्दै उहाँले यसका लागि सबै निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

आफूले संसदभित्रि पनि स्तन क्यान्सरका विषयहरु उठान गरेको स्मरण गराउँदै भन्नुभयो “राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यसको अवस्था के छ ? भन्ने विश्लेषण गरेर सरकारले के गर्दैछ, के गर्नुपर्छ भनेर बहस शुरु ग¥यौं ।”

क्यान्सर नियन्त्रण पोलिसि सरकारले बनाउनु पर्ने भन्दै उहाँले क्यान्सरको उपचारको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिनुभयो । क्यान्सर प्राणघातक रोग भनेर नकारात्मक रुपमा लिने गरिएको भन्दै उहाँले भन्नुभयो “अब पाठ्यक्रमहरुमा पनि क्यान्सर एउटा रोग हो, यसको उपचार सम्भव छ भन्ने कुरा समावेश गर्नुपर्छ ।”

कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति डा. विजयराज न्यौपानेले स्तन क्यान्सर विजेताहरुलाई सचेतनाका लागि ‘एम्बेस्डर’ बनिदिन आग्रह गर्नुभयो । क्यान्सर विजेताहरुले आफ्नो अनुभव सुनाउँदै सचेतना फैल्याएमा प्रभावकारी हुने उहाँको भनाई छ ।

अस्पतालमा स्तन क्यान्सर पहिचानका लागि मेमोग्राम मेसिन आएर दुई महिनादेखि थन्किएको भन्दै सप्लायर्सले जडान नगरिदिंदा सेवा दिन नसकिएको बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले नेपालमा क्यान्सर रोगको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले बाह्य र भित्री कारणबाट क्यान्सर हुने भन्दै ८० देखि ९० प्रतिशत बाह्य कारणबाट हुने क्यान्सर रोगबाट बच्ने कुरा आफ्नै हातमा रहेको बताउनुभयो । स्वस्थ खानपान र जीवनशैली जिउँन सके क्यान्सरबाट धेरै हदसम्म बच्न सकिने उहाँको भनाई थियो ।

विश्वमा सबैभन्दा बढी एसियामा क्यान्सर रोगी रहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले नेपालमा वर्षेनी २२ हजार ८ जनामा क्यान्सर पहिचान हुने र ती मध्ये १४ हजार ७०४ जनाको मृत्यु हुने गरेको बताउनुभयो । झारफुक, आयुर्वेदिक औषधि, हेराउने जस्ता काम गरेर समयमा उपचारमा नआउँदा धेरैले ज्यान गुमाउनु परेको उहाँको भनाई थियो ।

स्तनमा हुने सबै गाँठागुँठी क्यान्सर नहुने भन्दै उहाँले भन्नुभयो “गाँठागुँठी देखिए तुरुन्त परीक्षण गर्नुहोस् ।” रोग नलुकाउन पनि उहाँको सुझाव थियो ।

अस्पतालको सर्जिकल विभागका प्रमुख डा. विश्वराम पौडेलले स्तन क्यान्सर प्रभावितलाई बलियो आत्मविश्वासका साथ परिवारको माया पनि चाहिने बताउनुभयो । १० वर्ष अघिसम्म क्यान्सर लागेमा मृत्यु हुन्छ भन्ने मानसिकता रहेको चर्चा गर्दै डा. पौडेलले उपचारको क्षेत्रमा नयाँनयाँ प्रविधि आएसँग उपचार अझै सहज हुँदै गएको बताउनुभयो । उहाँले स्तन क्यान्सर प्रभावितलाई नियमित फलोअपमा आउन सुझाव दिनुभयो ।

अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख डा. अस्मिता रानाले पाठेघरको मुखको क्यान्सरलाई जितेर स्तन क्यान्सर अगाडि आएको चर्चा गर्दै पुरुष चिकित्सकलाई देखाउन लजाउने समस्या अझै रहेको बताउनुभयो । आफूहरुले स्तन क्यान्सर लगायत अन्य क्यान्सरको सचेतनाका कार्यक्रमहरु लिएर गाउँगाउँमा पुगेको चर्चा गर्दै डा. रानाले जनचेतनाको अझै कमी रहेको बताउनुभयो ।

स्तन क्यान्सर विजेता निता श्रेष्ठले स्तन क्यान्सरसँग जिते जीवन पाईने चर्चा गर्दै क्यान्सर जितेसँगै आफ्नो जीवन झन सहज भएको बताउनुभयो । उहाँले विगत सम्झँदै भन्नुभयो “विगतमा क्यान्सर अस्पतालको सेक्युरिटी गार्ड मात्रै थिएँ, अहिले धेरै व्यवसाय सञ्चालन गरिरहेकी छु ।” चिकित्सकहरुले नयाँ जीवन दिएको भन्दै उहाँले उपचारमा सहयोग गर्ने सबैप्रति नमन गर्नुभयो ।

स्तन क्यान्सर विजेता पञ्चु लामाले आफू क्यान्सर जितेर पनि २० वर्षसम्म स्वस्थ जीवन बिताईरहेको बताउनुभयो । सकारात्मक सोचले मात्रै नपुग्ने भन्दै उहाँले त्यसलाई व्यवहारमा उतर्नुपर्ने बताउनुभयो । आफ्नो स्तनमा गाँठागुँठी देखिएपछि स्त्रीरोग विशेषज्ञकहाँ जाँदा ढिलो भएको भन्दै शुरुमै क्यान्सर अस्पताल जान सुझाव दिनुभयो ।

स्वस्थ खानपान र व्यायाम गर्न सुझाव दिंदै उहाँले भन्नुभयो “सक्नुहुन्छ भने आफैले उत्पादन गरेको ताजा तरकारी–फलफूल खानुहोस्, दैनिक व्यायाम, ध्यान गर्नुहोस्, भजन सुन्नुहोस् ।”

विष्णु अधिकारीले संयोजन गर्नुभएको कार्यक्रममा परिचय संस्थाका अध्यक्ष बन्दना खाँडले स्वागत गर्नुभएको थियो । कार्यक्रममा स्तन क्यान्सर विजेताहरु, उपचार गराईरहेका र परिवार समेतको उपस्थिति थियो ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.