आज मितिः २०८२ असार २५ गते

पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ को बेल्जियममा विमोचन

बेल्जियम-

 

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ को आइतबार बेल्जियममा विमोचन गरिएको छ।

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतका अतिथिहरूले पुस्तकको विमोचन गरेका हुन्।

त्यस क्रममा राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरूले बुझ्न सके देश विकासमा ठुलो सहयोग पुग्ने बताए। ‘प्रवासका फूलहरू’ पुस्तक युरोपका नेपालीहरूको दस्ताबेजको रूपमा रहने भएकाले पनि इतिहास बन्ने उनको धारणा थियो।

पुस्तकमार्फत विदेशमा रहने नेपालीहरूको प्रतिनिधि भोगाइ तथा सत्य कथाबाट युवापुस्तालाई सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास व्यक्त गर्दै राजभण्डारीले प्रवास बसाइका अनुभव, संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरूले कसरी विश्वसामु फैलाइरहेका छन् भन्ने विषय लिपिबद्ध भएको बताए।

‘प्रवासका फूलहरू’बारे चर्चा गर्दै लेखक गौतमले मुलुकबाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा लेखिएको बताए। करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा उनले अनेसासप्रति आभार व्यक्त गरे।

पुस्तकमा युरोपमा रहेका ३९ नेपालीहरूको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति, पारिवारिक अवस्था, वैदेशिक रोजगारको संघर्षलगायतका वास्तविक कथा समावेश गरिएको गौतमले जानकारी दिए।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूले धेरै चुनौतीबिच पनि नेपाली पहिचानलाई निरन्तरता दिन र यसको प्रचारप्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरिन्। उनले सबैका आआफ्नै भोगाइ हुने भन्दै तिनलाई पुस्तामार्फत सबैसामु जानकारी दिलाउन पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविश्यको कल्पना गरेर देश छोडेर युरोपमा बसेका नेपालीहरूका सत्य कथाहरू संकलन गरेकोमा पत्रकार गौतमप्रति आभार प्रकट गरे। आफ्नो जन्मभूमि छोडेर फरक भूगोल संस्कार र संस्कृतिमा आफूलाई स्थापित गर्न नेपालीहरूले युरोपमा गरेका संघर्षका कथाहरू प्रेरणादायी बन्ने उनले बताए।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अमाईंले पुस्तकमाथि टिप्पणी गर्दै यसले युरोपभित्रका अधिकतम देशका विभिन्न पेसा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद व्यक्त गरे। पुस्तक अभिलेखका रूपमा रहने उनले विश्वास व्यक्त गरे।

अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तकमाथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आमनेपालीको कथा बोलेको प्रतिक्रिया दिए। २८८ पृष्ठको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वातामा आधारित भएर पुस्तक प्रकाशन भएको बताए।

अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरूको संघर्षको अन्तरकथा तयार पारी विमोचनका लागि अनेसासलाई अवसर दिएकोमा धन्यवाद व्यक्त गरे। युरोपमा नेपालीहरूका दिव्य आशा, उन्मुक्त मनोभाव, उत्तेजना, सफलता–असफलताका कथा र संकल्पहरू समावेश गरिएको ‘प्रवासका फूलहरू’ पुस्तक कलात्मक कृतिका रूपमा रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा एनआरएनए आइसिसी सदस्य मदन दवाडी, हरि भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष विनोद न्यौपाने, जनसम्पर्क समिति बेल्जियमका उपसभापति विराट जोशीलगायतले कृति सफलताको शुभकामना व्यक्त गरे। पुस्तकमा लेखक संघका केन्द्रीय सदस्य हयगृब आचार्यको भाषा सम्पादन, कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र विना देवकोटाको श्रुतिलेखन रहेको छ भने पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति क्रियसन राम अविकास र वितरकमा किताब घर हेटौँडाका छवि अनित्य रहेका छन्।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.