आज मितिः २०८३ बैशाख ९ गते

आइतबार बिहानसम्म सातवटै प्रदेशमा वर्षा हुने

काठमाडौं-

मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी गर्दै बिहीबारदेखि शनिबारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरेको थियो।

रेडअलर्ट जारी भएका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय सरकारले यसअघि नै गरेको थियो। महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। तराईमा हावाहुरीको समेत चेतावनी दिइएको छ।

गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने आरिघोप्टे तहको वर्षाको सम्भावना छ।
बिहीबार बिहीबार दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका थोरै स्थान तथा मधेशका एक–दुई स्थानमा भीषणदेखि अत्यधिक वर्षाको चेतावनी दिइएको छ। तराईमा हावाहुरी चल्नेछ।

शुक्रबार पनि देशभर वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थान तथा मधेशका थोरै स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। तराईमा हावाहुरीको समेत सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ।

शनिबार अधिकांश स्थानमा वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी, गण्डकी तथा कर्णालीका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

आइतबार बिहानसम्म वर्षा हुनेछ। देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि आइतबार दिउँसोदेखि मौसममा सुधार आउने मौसमविद् मानन्धरले बताइन्। गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.