काठमाडौं-
आज ऋषिपञ्चमीका अवसरमा राजधानीकादेखि विभिन्न नदी किनारमा स्नान गर्ने महिलाको भीड लाग्ने गर्दछ ।
नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ।
आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा महिलाले स्नान गर्नुपर्ने शास्त्रीय विधि रहेको छ। तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्न भीड लागेको छ। गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले आज ऋषिपञ्चमीका अवसरमा स्नान गरिरहेका छन्।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन्। हरितालिका ९तीज० को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।
नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ। यसैकारण आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उनले बताए।