रामेछाप-
रामेछापको दोरम्बा लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या आठ पुगेको छ । यही भदौ ९ गते बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मंगलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिएका छन् ।
मंगलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औंलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले पहिचान गरेका थिए ।
गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नम्बर–३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छ जनाको शव सोही दिन नै निकालिएको थियो । त्यसपछि एकको शव र हिजो एकजनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको संख्या आठ पुगेको हो ।