नवलपुर-
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल खन्ने क्रममा ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोसित आफन्तहरुले नगरपालिका र मेयरको घर तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै दर्जनौँ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ ।
कावासोती नगरपालिका तोडफोड गरेका स्थानीयहरुले कावासोती बजारमा रहेको मेयर बिष्णु भुसालको घरमा समेत तोडफोड गरेका छन् ।
मृतकले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरेका छन् । कावासोती बजारमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले मेयरको घरमासमेत आगजनीको प्रयास गरेका थिए ।
कावासोती नगरपालिका २ फलफुल चोकमा नाला निर्माणमा खटिएका कावासोतीका ५१ बर्षिया सेती राना, २६ वर्षकी तानमया मगर र ३२ वर्षिया चमेली सिंजालीको बिहीबार ढिस्कोले पुरेर मृत्यु भएको थियो । उनीहरु सबै कावासोती नगरपालिका वडा नम्बर ५ निवासी हुन् । नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरुको मृत्यु भएको उनिहरुले बताएका छन् ।
नाला खन्ने क्रममा पुरिएर मृत्यु भएका ३ जना महिलाको परिवार र नगरपालिका बिच १० बुदेँ सहमति भएको छ ।