काठमाडौं-
गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरणका लागि नियमावलि बन्ने भएको छ ।
यस विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा समितिले बोलाएको छलफलमा गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने बताए ।
यसको आवश्यकताका लागि छलफल पर्याप्त भइसकेको भन्दै उनले गाँजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि नै चासो दिएको बताए ।
छलफलमा सरकारको तर्फबाट मात्रै होइन प्रतिनिधि सभा सदस्य र नेपाल सरकार सचिवहरूले पनि गाँजाको औषधिजन्य उत्पादन र औद्योगिक प्रयोजनको लागि कानुन बनाएर खेती गर्नुपर्नेमा साझा धारण देखाए ।
अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा समेत गरे । उनले गाँजाको उत्पादन गाउँगाउँमा भइरहेको बताए । अप्रत्यक्ष रूपमा गाउँगाउँमा गाँजा खेती हुने सामान्य जस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने उनले बताए ।