काठमाण्डौं-
झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ। सोमबार साँझ झापा गाउँपालिका-३ कामाटोलीमा प्रहरीले गोली चलाएर झापा गाउँपालिका(४ का २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दका अनुसार सोमबार साँझ कामाटोलीस्थित अक्कल बहादुर विश्वकर्माको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सूचनापश्चात जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त टोली सो घरमा पुगेको थियो। अकस्मात प्रहरी देखेपछि आलमले खुकुरी र दाउ निकालेर प्रहरीमाथि आक्रमण प्रयास गरेको डिएसपी चन्दले जानकारी दिए।
त्यसपछि प्रहरीले प्रतिरक्षा स्वरूप दुई राउन्ड गोली चलाएको थियो।
प्रहरीले चलाएको गोली आलमको बाँया खुट्टाको तिघ्रा र पिँडुलामा लागेको छ। उनलाई नियन्त्रणमा लिइ उपचारका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको डिएसपी चन्दले जानकारी दिए।
चन्दका अनुसार आलमको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ थान १ र खुकुरी थान १ बरामद भएको छ।