अछाम-
अछाममा जङ्गली जनावर बँदेलले आतङ्क मच्चाएको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन्।
मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएपछि उनलाई जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो। माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो।
घाइते भएकी उनलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो। बँदेल गाउँमै पस्न थालेपछि आक्रमणको डरले वडा नं ६ का जनतामा त्रास फैलिएको हो। नजिकैको जङ्गलबाट आएका बँदेलले गाउँमा आतङ्क मच्चाएर मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीय हरुले बताए।
अहिले पनि गाउँको वरिपरि तीन(चारको सङ्ख्यामा दिन र रातको समयमा बँदेल आउन थालेपछि यस ठाउँका नागरिकले आफ्नो सुरक्षाको माग गरेका छन्।