चितवन-
पूर्वी चितवनमा थारु समुदायको कला, संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । स्थानीय थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर खैरहनी नगरपालिका–५ गौचरनमा सुरु महोत्सवको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गर्नुभएको थियो ।
आदिवासी धर्ती पुत्र समेत भनिने सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ को रुपमा मनाउने चलन रहेको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले खिचराको अवसरमा हरेक वर्ष महोत्सव गर्दै आएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरीएको महोत्सवमा एक सय ५० स्टल छन् ।
थारु समुदायको हस्तकलाका सामग्री ढकिया, कटिया, धौरी, लोप हुन लागेका सामग्री कोलु, ढेकी, काठका गाडा, तुहारी, , पटही, तथा परम्परागत गहना, खाना, वेशभूषा, भाषा, साहित्य तथा परिकारहरूथारू समुदायको कला, संस्कृतिसगैँ महोत्सव स्थलमा घुँगी र प्वाकाको प्रतिमा त्यहाँ पुग्ने दर्शकका लागि महोत्सवको आर्कषण रहेको छ ।
महोत्सवमा घुँगी, घओगा, काकारा, सितुवा, चिचर, प्वाका, नग्गर रोटी, लोकल माछा, हाँसको मासुसहितका थारू सामुदायले खाने परिकारहरुको स्वाद लिन पाईन्छ । यसका साथै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् ।
महोत्सवमा हरेक दिन थारु समुदायको मौलिक परम्परागत प्रचलित ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी, झर्रा, डफु नाँच जस्ता साँस्कृतिक नृत्यहरुमा रम्न पाईन्छ ।
चितवनमा विभिन्न ठाउँमा आर्थिक कृयाकलाप बढाउने उद्देश्यले मेला महोत्सव हुने गरे पनि आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पूर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताउनुभयो ।
महोत्सवमा थारु संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, व्यपार, कृषि र पर्यटनसँग सम्बन्धित १५० वटा स्टलहरु रहेको मुल आयोजक समितिका संयोजक रामेश्वर चोधरीले जानकारी दिनुभयो । महोत्सव माघ १० गतेसम्म चल्ने छ ।