काठमाडौं-
काठमाडौं महानगरले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने भएको छ । महानगरले माघको २ गतेबाट तालिम सुरु गर्ने जनाएको छ ।
महानगरले सञ्चालन गर्ने सीपमुलक कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीका अनुसार अहिले सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रफेसनल एकाउन्टिङ्का तालिम सुरु भइसकेका छन् । ‘हामीले विभिन्न ३४ विधामा तालिम दिंदैछौं । आवश्यकता र मागका आधारमा तालिमका अन्य विधा थप गर्नेछौं,’ उनले भनिन् ।
१५ हजार व्यक्तिलाई तालिम दिने लक्ष्य राखेको महानगरले साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार संख्या पुग्ने देखिन्छ ।
महानगरले दिने अन्य तालिम सञ्चालन गर्न ४० वटा तालिम कक्ष तयार भइरहेका छन् ।
तालिम संयोजक देवेन्द्र केसीका अनुसार इलेक्ट्रिसियन, कम्प्युटर, व्युटिसियन, कपाल काट्ने सैलुन फेसन डिजाइनिङ्, टेलरिङ्, कुलिनरी आर्ट, कम्प्युटर हार्डवेयर, सीसीटिभी जडान, भर्टिकल फार्मिङ् र गार्डेनिङ् लगायत तालिमका लागि कक्ष तयार भइरहेका हुन् ।