काठमाण्डौं-
लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बिहीबारदेखि सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत विश्वका २६ वटा वृत्तचित्रका प्रदर्शनी गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्वसमा अन्तर्राष्ट्रियस्तरका फिचर तथा लघुचलचित्र प्रदर्शन गरिने कथा मण्डलाका कार्यकारी निर्देशक पाण्डव केसीले बताउनुभयो ।
लुम्बिनी प्रदेशभित्रको भाषा, कला, संस्कृतिलगायत प्राकृतिक तथा सांस्कृतिक सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सिनेमाको माध्यमबाट सहयोग पुग्ने उहाँले बताउनुभयो ।
तानसेन नगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्धनमा तानसेनस्थित सन्तोष चलचित्र मन्दिरमा कार्यक्रम हुने छ । महोत्सवले मौलिक संस्कृति, ऐतिहासिक सम्पदा, स्थानीय खानपान, वेशभूषा र पर्यटकीय स्थलहरूमा आगामी दिनमा चलचित्र छायाङ्कनको वातावरण निर्माण गर्ने विश्वास गरिएको छ । चलचित्र प्रदर्शनपछि सम्बन्धित चलचित्रका निर्देशक, निर्माता, कलाकारसँग दर्शकसँगको प्रत्यक्ष संवाद आयोजना गरिने जानकारी केसीले दिनुभयो ।