आज मितिः २०८३ भाद्र ३० गते

वैरो संघद्वारा एफडब्लुसिएमएसबारे आइएलओको ध्यानाकर्षण

काठमाडौं-


नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपाली श्रमिकको भर्नाका लागि त्यहाँको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा नेपाली म्यानपावर कम्पनी छनोट प्रक्रियाबारे अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले ध्यानाकर्षण गराएको छ । संघले सोमबार नेपालका लागि आइएलओका कन्ट्री डाइरेक्टर नुमान ओज्कानसँगको छलफल फलदायी रहेको बताएको हो।

संघले मलेसियाको एफडब्लुसिएमएसद्वारा प्रस्तावित प्रणाली, विशेषगरी इजाजतपत्र प्राप्त एजेन्सीहरूका लागि सीमित पहुँच, भेदभाव र असमान व्यवस्थाको प्रावधानबारे आफ्नो गम्भीर चिन्ता राखेको अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले बताए ।

संघले नेपालबाट जाने आप्रवासी कामदारहरूको अधिकार र हितको संरक्षण गर्दै नेपाल र मलेसियाबीचको बलियो श्रम सम्बन्ध कायम गरी भर्ना तथा छनोटमा निष्पक्षता, पारदर्शिता, समान अवसर र नैतिक अभ्यासहरू सुनिश्चित गर्ने विषयमा जोड दिएको बताएको छ । निष्पक्ष, पारदर्शी र गैरभेदभावपूर्ण भर्ना प्रणालीलाई प्रवर्धन गर्न सबै सम्बन्धित सरोकारवालासँग रचनात्मक संवाद र सहकार्य गर्न प्रतिबद्ध रहेको भन्दै संघले मलेसियाको प्रस्तावित प्रणालीले इजाजतपत्र प्राप्त सीमित वैदेशिक रोजगार व्यवसायीलाई मात्र पहुँच दिई विभेद गरेर समान अवसरबाट वञ्चित गर्न सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्व र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व समग्र वैदेशिक रोजगार क्षेत्रलाई नीतिगत सुधारका माध्यमबाट सम्मानित, पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन दत्तचित्त रहेको भन्दै संघले कुशल कूटनीतिक प्रयासद्वारा मलेसिया रोजगारलाई निरन्तरता दिने भूमिका खेल्न परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको छ ।

मलेसियाको एफडब्लुसिएमएसमा नेपाल सरकारको सहमतिबिना नै २५ मुख्य र उनीहरू मातहत १० गरी २७५ नेपाली म्यानपावर कम्पनी दर्ता गरिएपछि मलेसियाको रोजगारीमाथि अन्योलता गहिरिएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.