काठमाण्डौं-
मलेसिया श्रमिक पठाउने विषयमा भएको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर भएर प्रस्तुत भएको छ । सङ्घले
मलेसियामा श्रमिक पठाउनका लागि पछिल्लो पटक छनोट भएका २५ वटा वैदेशिक रोजगार कम्पनीविरुद्ध कठोर नीति लिएर छ वटामा तालाबन्दी गरेको हो । सङ्घले पत्रकार सम्मेलनमार्फत ‘रिक्रुटमेन्ट एजेन्सी’ मार्फत मलेसिया जाने नेपाली श्रमिकका लागि केही सीमित कम्पनी मात्रै सूचीकृत गरेर सिन्डिकेट गर्न खोजेको भन्दै यसको विरुद्धमा कठोर हुन बाध्य बनाएको जनाएको छ ।
सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले सिन्डिकेटमा नाम जोडिएका भनिएका २५ वटा कम्पनीसँग स्पष्टीकरण सोध्ने र आइतबार छ वटालाई कारबाही गरेर सुरुवात गरेको जानकारी दिए । सीमित कम्पनीलाई मात्रै रोजगारीको पहुँच दिँदा बजारमा प्रतिस्पर्धा खुम्चिने र त्यसको प्रत्यक्ष असर अन्ततः नेपाली श्रमिकमाथि पर्ने जोखिम भन्दै उनले पछिल्लो कदम नेपालको रोजगारी र अर्थतन्त्रका लागि घातक हुने बताए ।
यसै गरी सङ्घका महासचिव हरि डाँगीले विगतमा पनि मलेसिया रोजगारीमा विभिन्न नाममा सीमित कम्पनी र संरचना खडा गरी श्रमिक पठाउने प्रयास विवादित बनेको स्मरण गर्दै अब वैदेशिक रोजगारीमा त्यस्ता एकाधिकारवादी अभ्यास दोहोरिन नदिने बताए। सरकारको नियम अनुसार दर्ता भएका सबै व्यवसायी कम्पनीले स्वस्थ र स्वच्छ प्रतिस्पर्धामा मलेसिया श्रमिक पठाउन पाउनुपर्नेमा उनले जोड दिए।
।