आज मितिः २०८३ श्रावण २० गते

भरतपुर महानगरपालिकाले एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्यायो

Uddar News

चितवन-

भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याएको छ । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएकाहरुको निधनपछि प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो ।

विभागका प्रमुख सन्देश वाग्लेका अनुसार भरतपुर महानगरपालिकाका बासिन्दा श्रम स्वीकृति लिएर गएकाहरुको विदेशमा निधनपछि निःशुल्क शव नेपाल ल्याइएको हो । कुवेत, युनाइटेड अरब इमिरेट्स, कतार, साउदी अरब र पोर्चुगलबाट नेपाल ल्याइएको हो । हृदयाघात भएर, आत्महत्या, दुर्घटनामा परेर लगायत कारणले उनीहरुको मृत्यु भएको थियो ।

प्रमुख वाग्लेका अनुसार विदेश जानुअघि महानगरपालिका वा नेपाल सरकारको कुनै आधिकारिक निकायबाट श्रम स्वीकृत गरेर गएकाहरुको शव महानगरले झिकाउने गर्दछ ।

श्रम स्वीकृतिका क्रममा निजहरुको स्वास्थ्य बिमा गर्ने गरिन्छ । वैदेशिक रोजगार बोर्डले निजहरुबाट कल्याणकारी कोषमा पनि रकम राख्ने गर्दछ । यसरी श्रम स्वीकृत गर्दा कल्याणकारी कोषका लागि प्रतिव्यक्ति रु एक हजार ५०० र म्यादी जीवन बिमाका लागि उमेरअनुसार रु दुई हजार ५०० देखि रु नौ हजारसम्म शुल्क लाग्ने गर्दछ । यो शुल्क दुई वर्षका लागि हुने गर्दछ ।

यसरी कोषमा रकम जम्मा गरेको र बिमा गरेकाको निधन भएमा उनीहरुको परिवारले वैदेशिक रोजगार बोर्डबाट प्रतिव्यक्ति रु १० लाख र बिमाबाट रु १४ लाख पाउने गर्दछन् ।

यसैगरी, आश्रित परिवारको अध्ययनका लागि छात्रवृत्तिका लागि कक्षा ८ सम्म वार्षिक रु १२ हजार र कक्षा ८ देखि १२ सम्मलाई वार्षिक रु १६ हजार उपलब्ध गराइने प्रमुख वाग्लेले जानकारी दिनुभयो ।

गत वर्ष शव झिकाइएकाको परिवारले सोहीअनुसारको रकम पाएको उहाँले बताउनुभयो । कतिपयलाई महानगरपालिकामा श्रम स्वीकृतिका सबै काम हुन्छन् भन्ने जानकारी नहुँदा काठमाडौँ जाने गरेको भन्दै उहाँले यससम्बन्धी जानकारी सबैमा हुनु आवश्यक रहेको बताउनुभयो ।

जहाँबाट श्रम स्वीकृति गरेको भए पनि भरतपुर महानगरवासीलाई कुनै समस्या श्रममा जाँदा परेमा सहजीकरण गर्ने काम महानगरले गरिरहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.