काठमाडौँ –
आकर्षक तलबको प्रलोभन देखाएर खाडी र युरोप पठाइदिने भन्दै १९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षिय कुनसाङ लामा, बर्दियाका ४२ वर्षिय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षिया सचिता परियार र खोटाङका ४१ वर्षिय निरोज राई रहेका छन्।
पक्राउ पर्नेमा कुनसाङले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै पाँच लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एक लाख ५० हजार रुपैयाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट सात लाख ९० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।