काठमाडौं-
नेपालको अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने उद्देश्यसहित ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीद्वारा प्रवर्द्धित ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रालि सञ्चालनमा आएको छ ।
प्रालिको काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक विशेष समारोह सहित कार्यालय सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष विनोद भट्टराई तथा चर्चित गायिका सरिका घिमिरेको विशेष उपस्थितिमा रिबन काटेर गरिएको थियो।
कार्यक्रममा उडान कार्गो, सारथी कार्गो, युनिका कार्गो, नेपाल रक्तदाता संघ, नेपाल चलचित्र पत्रकार संघकी गीता अधिकारी, गायक गौरव दर्पण, व्यवसायी युवराज श्रेष्ठ, गोपाल बिष्ट लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संघ–संस्था, स्थानीय बासिन्दा, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नवस्थापित कम्पनीको सफलताको कामना गर्दै आगामी दिनमा संस्थाले गुणस्तरीय, भरपर्दो तथा ग्राहकमैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।

सरोज बास्तोलाको नेतृत्व तथा सञ्चालनमा अघि बढेको यस संस्थाले नेपालबाट विश्वका विभिन्न मुलुकहरूमा सुरक्षित, भरपर्दो र छिटो कार्गो तथा कुरियर सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।
लामो समय प्रवास जीवन बिताएर स्वदेशमै केही गर्ने उद्देश्यका साथ व्यवसायिक यात्रामा अघि बढ्नुभएका बास्तोला विगतमा कतारस्थित नेपाली समुदायमा सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ। उहाँले पत्रकारिता, सामाजिक सेवा तथा रक्तदान अभियानमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँ विभिन्न समयमा नेपाल पत्रकार महासंघ कतार, मोरङ–सुनसरी सेवा समाज, एनआरएनए कतार तथा नेपाल रक्तदाता संघ नेपाल लगायत संस्थासँग आबद्ध रही सामाजिक कार्यमा योगदान पुर्याउँदै आउनुभएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष विनोद भट्टराई तथा गायिका सरिका घिमिरेले नयाँ व्यवसायिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दै कम्पनीलाई सेवामुखी, विश्वसनीय तथा ग्राहकको पहिलो रोजाइ बन्ने गरी अगाडि बढ्न सुझाव दिनुभएको थियो।
त्यसैगरी, सञ्चालक सरोज बास्तोलाले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, शुभेच्छुक, स्थानीयवासी तथा सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै “सरल, सहज र सुरक्षित ढंगबाट नेपालबाट विश्वभर सामान पठाउने सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो” भन्नुभयो।
उहाँका अनुसार कम्पनीले अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुकहरू तथा मध्यपूर्वका विभिन्न देशहरूमा कार्गो तथा कुरियर सेवा सञ्चालन गरिरहेको छ तथा आगामी दिनहरूमा सेवा विस्तारलाई अझ प्रभावकारी बनाइनेछ।
हाल कम्पनीको मुख्य कार्यालय बालाजु बाइपास, काठमाडौंमा रहेको छ भने सम्पर्क तथा सेवा समन्वयका लागि घट्टाघर–भक्तपुर, ग्वार्को–ललितपुर, बागबजार–काठमाडौं, इटहरी–सुनसरी तथा विराटचोक–मोरङमा समेत सम्पर्क केन्द्रहरू रहेको जानकारी दिइएको छ।
नेपालबाट विश्वभर सुरक्षित, भरपर्दो र छिटो सेवा प्रदान गर्ने लक्ष्यसहित सुरु भएको ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा।लि। ले अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर क्षेत्रमा नयाँ विकल्पका रूपमा आफ्नो उपस्थिति दर्ज गराउने विश्वास लिइएको छ।
“नेपालबाट विश्वभर सुरक्षित, भरपर्दो र छिटो सेवा” भन्ने नारासहित कम्पनीले आफ्नो औपचारिक व्यवसायिक यात्रा काठमाण्डौबाट प्रारम्भ गरेको छ।