विश्वकप फुटबलमा मेसीको ह्याट्रिक गोलसंगै अर्जेन्टिना र एम्बाप्पेको कीर्तिमानी गोलसंगै फ्रान्सको पनि विजयी भएको छ ।
खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले तीन गोल गरे । अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गरेका हुन् । विश्वकप फुटबलमा मेसीको यो १६औँ गोल पनि हो ।
मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन् । क्लोजले १६ गोल गरेका थिए । मेसी र क्लोजपछि फ्रान्सका एम्बाप्पेले १४ गोल गर्दै पछ्याइरहेका छन् । आजको खेलको शुरुआतमै अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन ।
न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरी भएकोमा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो ।
खेलको ६६औँ मिनेटमा माइकल ओलिसेको पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि ८२औँ मिनेटमा एड्रियन राबिओटको पासमा ब्राड्ली बार्कोलाले गोल थप्दै फ्रान्सको अग्रता २–० बनाए । इन्जुरी समयको पाँचौँ मिनेटमा इब्राहिम म्बायेले सेनेगलका लागि एक गोल फर्काए पनि त्यसको एक मिनेटपछि एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जित पक्का गरे ।
यससँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या १४ पुगेको छ ।